काठमाडौं । सिवाइसी अत्तरियाले धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्यामपियनसिपको उपाधि जितेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई ३४ रनले हराउँदै अत्तरियाले उपाधि जितेको हो ।
जितको लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको डडेलधुराले डडेलधुराले १८ ओभरमा अलआउट हुँदै ८४ रनमात्र बनाउन सक्यो । डडेलधुराको लागि गजेन्द्र बोहोराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
अत्तरियाको लागि दिपेश कडेल र शाहाब आलमले समान ३/३ तथा कमल गुप्ता र विवेक यादवले समान दुई/दुई विकेट लिए ।
यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । अत्तरियाको लागि रशिद खानले सर्वाधिक ३१ रन बनाउँदा सन्तोष कार्की र शंखर रानाले समान २०/२० रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भिम शार्कीले १० रन बनाए ।
डडेलधुराको लागि अविशेक गौतमले चार विकेट लिँदा अजय चौहान र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।
जितसँगै अत्तरियाले १० लाख रुपैयाँ प्राप्त गर्दा डडेलधुराले पाँच लाखमा चित्त बुझाएको छ ।