काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् ।
शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे ।
केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भएपनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे ।