अब राज्यलाई चाहिने निजामती कर्मचारी

-नारायण गाउँले ।

बेलायतको गृह मन्त्रालयमा काम गर्ने अधिकृतलाई म्याग्नाकार्टाबारे जति ज्ञान छ, त्यसभन्दा धेरै ज्ञान हाम्रो कृषि मन्त्रालयको अधिकृतलाई हुन्छ । पत्यार नलाग्न सक्छ, हाम्रो निजामती सेवादेखि संस्थानसम्म काम गर्ने नायब सुब्बालाई समेत विश्वको इतिहास, ग्रीक र रोमन सभ्यता, पौराणिक प्रसङ्गदेखि डार्विनको विकासवाद, सिगमण्ड फ्रायडदेखि भोल्टेयर, फ्रान्स राज्यक्रान्तिदेखि रसियाको एप्रिल क्राइसिसजस्ता राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय सन्धि र कानुनहरू र खेलाड़ीदेखि अभिनेतासम्मको जीवनी थाहा हुन्छ । अमेरिकी अधिकृतलाई अब्राहम लिङ्कनले कुनै स्कुललाई चिठी लेखेका थिए भन्ने थाहा नहोला, हाम्रो खरिदार सापले एक एक अक्षर याद गर्नुभएको हुन्छ ।

लोकसेवामार्फत हाम्रो कर्मचारीतन्त्रमा पस्ने जनशक्ति सामान्यज्ञान र सूचनामा विश्वकै अब्बलमध्ये एक होला । छिमेकी भारत अर्को उदाहरण होला । औचित्यमाथि प्रश्न त गर्न सकिएला तर सिङ्गो विश्वबारे तिथिमितिसहित सूचना कण्ठस्थ नपारी शायदै कोही व्यक्ति नेपालमा अधिकृत भएको होला । युरोप, बेलायत या अमेरिकी कर्मचारीसँग आफ्नै देशको इतिहास र तिथिमिति पनि याद हुँदैन । तिनलाई ठ्याक्क आफ्नो पेशासँग जोडिएको कानुन, विनियम र अभ्यासबाहेक संविधान या अन्य राष्ट्रिय कानुनकै पनि ज्ञान हुँदैन । नेताहरूलाई भने निरन्तर अध्ययन र अपडेट हुने प्रेसर भएकाले तीसँग व्यापक तथ्यपरक जानकारी हुन्छ ।

नेताबाहेक हाम्रो प्रत्येक कर्मचारी कठीन परीक्षा पास गरेर आएको हुन्छ । ऊ आफैंमा अब्बल हुन्छ । र पनि हाम्रो उत्पादकत्व भने विश्वकै कमजोर छ । एउटा लाइसेन्स रिन्यू गर्ने ठाउँमा दुई दर्जन कर्मचारी हुन्छन् । रिन्यू हुन दुई वर्ष लाग्छ । जबकि यो प्रविधिको युगमा दुई जना कर्मचारी हुने हो भने यो काम फत्ते हुन सक्छ । अझ कतिपय देशले त यसलाई अटोमेटेड प्रक्रियामा लगेर मान्छे नै नचाहिने बनाउँदै छन् । टिप्पणी उठाउने, रसीद काट्ने, ढ़ड्डा पल्टाउने, रसिद रुजू गर्ने, रातो मसीले हस्ताक्षर गर्ने जस्ता काम एउटै टेबलबाट हुन सक्ने काम हुन् । आफूले गर्नुपर्ने कामभन्दा बाहिरका धेरै कुरा जानेको भएर पनि हाम्रो उत्पादकत्व कम भएको हो कि ?

तिनलाई प्रविधिसँग जोड्ने, विषयगत सिप क्षमता निखार्ने, अनावश्यक कर्मचारी घटाउँदै जिम्मेबारी र कार्यक्षेत्र बढाउने र त्यसै अनुसार तलबसुविधा थप्ने हो भने नेता जस्तो भए पनि हाम्रा कर्मचारीहरूले देश धानिराख्न सक्छन् ! हाम्रो घटिया राजनीतिले राज्यका सबै अङ्ग र पिल्लर हल्लाएको छ । अलिकति हल्लिन बाँकी रहेको लोकसेवाले नै आजसम्म देशको जरा हल्लिनबाट बचाएजस्तो लाग्छ । तपाईं पनि राष्ट्रसेवक कर्मचारी हुनुहुन्छ र यी अक्षर पढ्दै गर्नुभएको छ भने, एभरेजभन्दा माथिल्लो तपाईंलाई मेरो आदरयुक्त नमस्कार छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *