काठमाडौं । पुस ८ गतेको लेखा समितिको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागियो । नेकपा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा मागेको हो । राजीनामा माग्नुको कारण थियो मोरङको उमागौरी कृषि सहकारीको बचत अपचलन मुद्दामा पोखरेल पत्नी अञ्जला कोइराला जोडिनु । सहकारीको रकम ठगीमा मुद्दामा कोइरालाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेपछि यसमा ऋषिकेश पनि जोडिएको भन्दै माओवादीले उनको राजीनामा मागेको हो ।
बैठकमा माओवादी सांसद अमनलाल मोदीले भने, ‘सहकारीका बारेमा तपाईंको परिवार र तपाईंमाथि पनि प्रश्न उठिरहेको छ । सरकारका काम–कारबाहीलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ । सरकारको छाया सार्वजनिक लेखा समिति त होइन भन्ने प्रश्न उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीको सभापति हुनुहुन्छ । यसबारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ । तपाईंले मार्ग प्रशस्त गरिदिए राम्रो ।’
माओवादीले राजीनामा मागेपछि जवाफमा पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताए । पोखरेलले भने, ‘मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु ।’
सहकारी ठगीबाट पत्नीलाई जोगाउन पोखरेलले अनेक हर्कत गरेका थिए । प्रहरीमा जाहेरी लिन नदिनेदेखि अदालतमा आफूविरुद्ध मुद्दा नचलाउन माग गर्दै निवेदनसमेत कोइरालाले दिएकी थिइन् । तर प्रहरीलाई दवाव दिएर उम्कने प्रयास गरेपनि अदालतबाट भने कोइराला उम्किन सकिनन् । अदालतले यतिबेला उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिले कोइराला फरार सूचीमा छिन् । अञ्जला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् । अञ्जला फरार भएपछि स्कुल बिदा थपको निवेदन श्रीमानले पठाएका छन् । उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा सकिएपछि श्रीमानले थप बिदाको निवेदन दिएका हुन् ।
यसरी श्रीमती सहकारी ठगीमा मुद्दामा परेपछि पोखरेल विवादमा परेका हुन् । गत भदौमा लेखा समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने तयारीका साथ बैठक राखेका पोखरेलले कारबाहीको निर्णय गर्न सकेका थिएनन् । माओवादी, रास्वपा र कांग्रेसले विरोध गरेपछि उनले कारबाहीको निर्णय गर्न सकेका थिएनन् । त्यसबीचमा श्रीमतीले सहकारी ठगेको मुद्दा बाहिर आएपछि पोखरेलले बीचमा बैठक नै राखेका थिएनन् । लामो समयपछि पुस आठमा बैठक राखेपनि त्यसपछि भने बैठक राख्न सकेका छैनन् ।
अहिले फेरि पोखरेलका स्वकीय सचिव ठगीमा जोडिएको घटना सार्वजनिक भएको छ । पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेल ठगीमा जोडिएपछि पदबाट निकालेका छन् । एमबीबीएस डाक्टर पढाउने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको खबर बाहिरिएपछि सभापति पोखरेलले शुक्रबार स्वकीय सचिवलाई निकालेका हुन् । सभापति पोखरेलले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्नसमेत माग गरेका छन् । सभापति पोखरेलका स्वकीय सचिव पोखरेलले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का बौआलाल चौधरीसँग छोरी दीक्षा चौधरीको नाम एमबीबीएसमा निकाल्दिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको अभियोग छ । यो घटना अहिलेको नभएर २०७४ को हो ।
आफू ठगीमा परेको थाहा पाएपछि चौधरीले पोखरेलसँग आफ्नो सम्पूर्ण रकम मागेका थिए । चौधरीले रकम फिर्ताका लागि एमाले पार्टीमा पनि पटक पटक सहयोग मागेका थिए । तर चौधरीको रकम फिर्ता गर्न कसैले वास्ता गरेन बरु पोखरेलले संरक्षण पाइरहे । अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै चौधरी इलाका प्रहरी कार्यालय रंगेली पुगेका थिए । प्रहरीले जिल्लामा निवेदन दर्ता गर्नु भन्दै फर्काइदियो । उनी पोखरेललाई रकम दिएको बैंक भौचर र पोखरेलले रकम बुझेको भन्दै गरेको हस्ताक्षरसहितको कागजसहित जिल्ला प्रहरी कार्यालय मोरङ पुगे । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै त्यहाँ पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन । त्यसपछि चौधरीले जिल्ला सरकारी वकिलको कार्यालय गुहारे । त्यहाँ पनि उनको कुरा सुनुवाइ भएन ।
त्यसपछि उनले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपनि जाहेरी दर्ता गरेन । त्यससपछि उनले अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर चौधरी उच्च अदालत पुगेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले गत भदौमै अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो । आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ । त्यसपछि यो घटना छताछुल्ल भएको हो । अनि मात्र सभापति पोखरेलले स्वकीय सचिवलाई बर्खास्त गरेका हुन् । सायद सभापति पोखरेलको आडभरोसा हुँदैनथ्यो भने अनिलविरुद्धको जाहेरी प्रहरीले लिन्थ्यो ।
शिक्षिका श्रीमती श्रीमानको सल्लाह विना पक्कै सहकारीमा बस्ने थिइनन् होला । किनकी आफू पदमा नबसेपनि सहकारीको सबै काम पोखरेल आफैंले गर्ने गरेको अन्य संचालकहरुले नै बताउँदै आएका छन् । अब यी दुबै मुद्दा अदालतमा प्रवेश गरिसकेका छन् । यसको छिनोफानो अदालतले पक्कै गर्नेछ । तर ठगी आरोपमा श्रीमती फरार अनि स्वकीय सचिव पनि ठगीमा पर्दा केही थाहा नपाएजस्तो गर्ने सभापति पोखरेलले चाहिँ लेखा समितिमार्फत ठगहरूको लेखाजोखा चाहिँ कसरी गर्लान् र अनि समितिको निर्णय चाहिँ कति विश्वसनिय होला ?
