केपी ओलीले लेख्नुभएको पार्टीको लोकतान्त्रिकरणको दस्तावेज साक्षी राखेर बहस गरौँ

सुवोधराज प्याकुरेल ।
अनुशासन आयोग छ एमालेमा । यो बिषय त्यहाँ पठाइएको भएपनि हुन्थ्यो । अनुशासन आयोगले यो बिषयलाई संज्ञानमा लिए पनि हुन्थ्यो । जे हो हामीमात्र हो भन्ने सन्देश जानु किमार्थ ठिक भएन । समाचारमा भनिन्छ, महासचिवले मोबाइलमा रहेको उहाँको अभिलेख देखाउनु भयो । नभन्दै सैद्धान्तिक बिषयमा महासचिवले कृत्रिम बौद्धिकता (एआई) ले परिभाषित गर्ने अनुशासनको अपुरो अधुरो बेकामे पाठ फेसबुकमा सार्वजनिक गर्नुभयो ।  एआई गुरुबाटै जनताको बहुदलीय जनवादको तालिम चलाए हुने भयो त अब ?

आदर्श यथार्थ अन्तर्य र उपायकोबारेमा सिद्धान्त रणनीति कार्ययोजना बनाउन स्थापित पार्टी घरी एआई देखाएर अनुशासनको व्याख्या गर्छ, घरी अदालतको कानून आधारित फैसला सिरानी हालेर प्रतिरक्षा गर्छ । एमाले साँच्चै लकिरको फकीर पार्टी हो ? कानूनले त पञ्चायतलाई पनि अनुमोदन गरेकै थियो ।

पार्टीको स्थापनादेखि लिएर सम्पूर्ण उन्नति प्रगतिका लागि मेहनत त्याग बलिदान गरेकाहरुको चित्त बुझाउन नसक्ने दज्र्यानीको दम्भले ग्रस्तहरुको हातमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित हुँदैगएको सन्देश व्याप्त बन्दैगएको अनुभूति भएको छ कि छैन ? आलोचना र आत्मालोचना कम्युनिस्ट पार्टीको मौलिक चरित्र हो । र आजको खुलस्त युगमा अल्पज्ञानी ठेट्नाहरु जसरी फलानो ढिकानोले के के बिगारे भनेर फलाक्दै कथित अरिङ्गाल–नायक बन्ने दौडमा छन् तिनलाई नेपालीले नचिनेको पनि छैन । त्यस्तालाई अघि लगाएर पार्टीको शाख विश्वास र पार्टीप्रतिको भरोसा किमार्थ बढ्नेवाला छैन।

सँगै बसौँ । वहस गरौँ । दज्र्यानी दम्भबाट मुक्त बनौँ । केपीले लेख्नुभएको पार्टीको लोकतान्त्रिकरणको दस्तावेज साक्षी राखेर बहस गरौँ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँकै सार्वजनिक आक्रोश पनि सहायक सामग्री बन्ला । असहमतिको समाधानकोबारेमा कम्युनिष्ट आन्दोलनमा सरल समाधान छँदैछ,–जे भन्नु छ भन, बाँकी नराखी भन, वक्तालाई दोष नदेउ, होइन भने होइन भन–।

Leave a Reply

Your email address will not be published. Required fields are marked *