अनिश्चित नै हो त प्रधानमन्त्रीको भारत भ्रमण ?

काठमाडौं । नेपालमा नयाँ प्रधानमन्त्री आउनासाथ विदेश भ्रमणमा जानैपर्छ भन्ने मान्यता बसेको छ । अझ विदेश भ्रमण पनि भारतबाटै गर्नुपर्छ भन्ने चाहना प्रधानमन्त्रीको नै हुने गरेको छ । विगतमा जस्तै यसपटक पनि प्रधानमन्त्री केपी शर्मा ओली भारतबाटै भ्रमण सुरु गर्न चाहन्थे । तर भारत भ्रमणका लागि निम्ता नआएपछि प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गए । प्रधानमन्त्री ओली सुरुमा चीन भ्रमणमा जाने भएपछि प्रचण्डले चाइना कार्ड खेल्न लागेको भन्ने अभिव्यक्ति दिए । चार दिने भ्रमणमा दुई देशबीच विभिन्न समझदारीमा हस्ताक्षर भयो । खासमा प्रधानमन्त्री ओलीको यो भ्रमण बीआरआई सम्झौताका कारण पनि विशेष महत्वको थियो । राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेट भएको दिन दुई देशबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर भएपनि बीआरआईमा भने भएन । तर भोलिपल्ट बीआरआई सहकार्यको फ्रेमवर्कमा दुई देशका अधिकारीबीच हस्ताक्षर भयो । बीआरआईमा समझदारी नहुँदा निरास भएको नेपाली प्रतिनिधिमण्डल भोलिपल्ट हस्ताक्षर भएपछि भने उत्साहित भएको थियो । जुन कुरा प्रधानमन्त्री मंसिर २० गते स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा दिएको अभिव्यक्तिबाट पनि स्पष्ट हुन्थ्यो ।

प्रधानमन्त्रीले विमानस्थलमा भ्रमणको सफलताको फेहरिस्त मात्र सुनाएनन् छिट्टै भारत भ्रमणमा जानेसमेत बताए । विमानस्थलमा पत्रकाहरुले अब दक्षिणको भ्रमण कहिले ? भन्दै प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’ त्यसक्रममा प्रधानमन्त्रीले नेपाल उत्तरतिर ढल्केको भनाईको खण्डन गरेका थिए ।

प्रधानमन्त्रीलाई भारत भ्रमणमा नगएर कसैले खिसिट्यूरी गरेजस्तो अनुभव भइरहेको थियो । जुन कुरा मंसिर २३ गते झापा पुगेर प्रधानमन्त्रीले व्यक्त गरे । झापाको दमकमा आयोजित एक कार्यक्रममा उनले आफूले केही समयमा भारत भ्रमण गर्ने बताए । उनले भने, ‘हामी देश बनाउँछौं। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन् । अब मान्छेहरूले पत्याएका छैनन् होला । म केही समयपछि भारत भ्रमणमा पनि जान्छु।’

यो बीचमा परराष्ट्रमन्त्री आरजु राणा युरोप भ्रमण जाँदा भारत हुँदै फर्किएका थिइन् । यसअघि भारत जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत भेट गरेकी राणाले यसपटक भने भारतीय अधिकारीहरुसँग भेट्न समेत पाइनन् । परराष्ट्रमन्त्री राणाको भ्रमणलाई भारतले महत्व नदिएर प्रधानमन्त्रीलाई बोलाउन नचाहेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

परराष्ट्रमन्त्री राणाको भ्रमणलाई महत्व नदिएरै होला प्रधानमन्त्री ओली भारत भ्रमणबारे चर्चा गरिरहन आवश्यक नभएको बताउन थालेका छन् । बुधबार पार्टीको सचिवालय बैठकमा यस्तो बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भनेका थिए, ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन ।’

प्रधानमन्त्री ओलीले पहिलोपटक चीन भ्रमण गर्नुअघि भारत जान चाहेका थिए । तर भारतको औपचारिक निमन्त्रण नआएपछि ओली चीन भ्रमणमा गएका थिए । खासमा यसअघि प्रधानमन्त्री हुँदा २०७७ जेठमा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा जारी गर्ने बेलामा संसदबाट भारतलाई प्रश्न गरेका थिए, ‘भारतको एउटा प्रतीक चिह्न छ भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । म सोध्नेवाला छु सत्यमेव जयते कि सिंहमेव जयते ?’ नेपाल विश्वास गर्छ, सत्यमेव जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते ।’
त्यसैको असर हो त प्रधानमन्त्री ओलीको अहिले भारत भ्रमण नहुनुको कारण ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *