काठमाडौं । पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिने निर्णयप्रति नेकपा एमालेका तीन नेताले आपत्ति जनाए । आपत्ति जनाउनेमा पूर्वउपाध्यक्ष डा. भीम रावल, नेतृहरु विन्दा पाण्डे र उषाकिरण तिम्सिना थिए । उनीहरुले सामाजिक संजालमार्फत पार्टी निर्णयको विरोध गरेका थिए ।
एमाले नेतृ विन्दा पाण्डेले सामाजिक संजालमा यस्तो लेखिन्, ‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गÞलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं ।’
अर्की नेतृ उषाकिरण तिम्सिनाले पनि निर्णय फिर्ता लिन माग गरेकी थिइन् । पार्टी निर्णयको विरोध गर्दै उनले सामाजिक संजालमा लेखिन्, ‘हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ, त्यतिमै आफ्नै पसिनाले सिँचिएको भवन प्यारो र गर्विलो हुनेछ । म नेतृत्वसमक्ष यहीँमार्फत निवेदन गर्न चाहन्छु– यो निर्णय फिर्ता लिइयोस् । हामीलाई बाँचुन्जेल एमाले भएर स्वाभिमानका साथ उभिने भूमि बाँकी राखिदिनुहोस् ।’
भीम रावलले पनि पार्टी निर्णयको विरोध जनाएका थिए । खासमा रावल चाहिँ महाधिवेशनमा अध्यक्षमा ओलीलाई ठक्कर दिन उम्मेदवारी दिएपछि कोपभाजनमा पर्दै आएका थिए ।
तर यी नेताको अभिव्यक्ति पार्टी नेतृत्वलाई मन परेन । कात्तिक ४ गते बैठक बसेर एमालेले पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गर्यो र सोध्यो पनि । उनीहरुले जवाफ दिए । तर यो बीचमा जग्गा दान लिने निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भयो । केही दिनअघि मात्रै सर्वोच्चले त्यो रिट खारेज गर्यो । सर्वोच्चले रिट खारेज गरेसँगै एमालेलाई जग्गा दान लिने बाटो खुलेको थियो । त्यसपछि बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटे निस्कासन गर्यो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ । चित्तबुझ्दो जवाफ नदिएको र उहाँहरुले गल्ती स्वीकार नगरेकाले कारबाही गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
पार्टीबाट निस्कासन गर्ने निर्णय यो केपी ओलीको सत्ता र शक्तिको उन्मादयुक्त, निरङ्कुश, स्वेच्छाचारी र तानाशाही निर्णय भएको रावलले प्रतिक्रिया दिएका छन् ।
तिम्सिनाले त पार्टी नेतृत्वले पञ्चहरुको नक्कल गरेको टिप्पणी गरेकी छन् । यता पाण्डेले चाहिँ हामी बाहिरै भए पनि ०८४ मा पार्टी ठूलो भएको हेर्न पाऊँ भन्ने अपेक्षा राखेको प्रतिक्रिया दिएकी छन् ।
पार्टीमा लामो समयदेखि योगदान गरेका नेतालाई यसरी कारबाही गरेको प्रति एमालेजन त मौन छन् तर अन्य दल अन्य क्षेत्रका व्यक्तित्वले भने सहानुभूति प्रकट गरेका छन् । कांग्रेस नेता लोकेश ढकाल सामाजिक संजालमा लेख्छन्, ‘उसको आन्तरिक मामिला हो तथापि महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेकै आधारमा पार्टीमा किनारामा पुर्याउने र विभिन्न राजनीतिक प्रसङ्गमा फरत मत राखेकै आधारमा पार्टीमा लामो योगदान गरेका भीम रावललाई पार्टीको संगठित सदस्य समेत नरहने गरी एमालेबाट निस्कासन गर्ने घटना दुर्भाग्यपूर्ण हो ।’
सामाजिक अभियन्ता एवं लेखक अमृता लम्साल लेख्छिन्, ‘लाभार्थी नबनीकन आफ्नो करिअर नै दाउमा राखेर स्वाभिमानमा अडिनु चानचुने कुरा होइन । सम्मान छ, विन्दा पाण्डे र उषा तिम्सिना।’
लेखक खगेन्द्र संग्रौलाले भने ओलीलाई किमको संज्ञा दिएका छन् । उनी लेख्छन्, ‘एमालेमा गोर्खे किम जोङ उनको निरङ्कुशता, अहो ! भीम रावल क्रुर लखेटाइमा, विन्दा पाण्डे र उषाकिरण निर्मम दमनमा । गोर्खे किम जोङको कमाण्डमा एमालेको भविष्य उज्ज्वल छ।’
यसरी पार्टीमा योगदान गरेका नेतालाई पार्टी निर्णयमा फरक मत राखेकै आधारमा कारबाही गर्दासमेत एकजना बाहेक एमालेजन चुइँक्क बोल्न सकेका छैनन् । एमाले नेतृ डा. विमला राई पौड्यालले मात्र पार्टी निर्णयको विरोध गरेकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्, ‘This is wrong गलत भयो । नेकपा एमाले बनाउने इमान्दार पिलरको नाम हो विन्दा पाण्डे । बच्चैदेखि पार्टीको सिपाही उषाकिरण । मनका कुरा खुल्ला जनमानसमा राख्दा कारवाहीमा पर्नु हुदैन।’
यत्रो एमाले पंक्ति मौन बस्दा पौड्याल चाहिँ आँट गरेर बोलेकी छन् । कतै अब कारबाही भोग्ने पालो उनको त होइन ? मुलुकको दोस्रो ठूलो दल र त्यसमा पनि सरकारको नेतृत्व गरेको दलको नेतृत्व नेता कार्यकर्ताको प्रश्नबाट किन तर्सिएको होला ?
