काठमाडौं । १२ डिसेम्बरमा भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का भूतपूर्व एजेन्ट लक्की विष्टले एक अन्तर्वार्तामा केपी शर्मा ओली नेतृत्वको सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन् । नवभारत टाइम्सका पत्रकार विनित त्रिपाठीसँगको अन्तर्वार्तामा उनले एक महिनाभित्र नेपालमा सरकार परिवर्तन हुने दाबी गरेका हुन् । अन्तरवार्तामा उनले भनेका छन्, ‘आज १२ तारिख हो । तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ ।’ उनी अगाडि भन्छन्, ‘तपाईं नोट गर्नुहोस्, निकै छिटो २०, १५, २५ दिनमा नेपालको सरकार ढल्दै छ । जुन दुई महिना पहिले बनेको थियो ।” विष्टले विश्वभरमा हुने सबै घटनाको पछाडि गुप्तचर एजेन्सी हुने दाबी गरेका छन् ।
हेर्नुस् विष्टको अन्तरवार्ताको अंश
हुन पनि हो, नेपाली नेताहरुले कुनै भारतको पक्ष लिने त कोही चीनको पक्ष लिने गरेका छन् । अहिले मात्र होइन, नेपाली राजनीतिमा फलानोलाई भारतले प्रधानमन्त्री बनाइदियो, मेरो सरकारले भारतले ढाल्दियो भनेको सुनिँदै आएको हो । अनि कुनै नेता प्रधानमन्त्री भएपछि सुरुमा भारत भ्रमणमा जाने इच्छा गर्ने र यदि भारतले बोलाएन भने मात्र चीनको भ्रमण गर्ने प्रचलन छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । तर सेनापति प्रकरणका कारण उनको सरकार ढल्यो । तर नेपाली राजनीतिमा प्रचण्डको सरकार भारतले ढालेको भनेर विश्लेषण गरिए ।
त्यस्तै संविधान जारी गर्न केही दिन कुर्न भारतले आग्रह गर्दा नेपालले नमानेको र पछि त्यही कारण देखाएर भारतले नाकाबन्दी गरेको नेताहरुले बताउने गरेका छन् ।
अहिले मुलुकमा कांग्रेस एमालेको सरकार छ । केपी शर्मा ओली प्रधानमन्त्री छन् । ओली पनि यसपटक भारतबाटै विदेश भ्रमणको सुरुवात गर्न चाहन्थे । तर भारतले नबोलाएपछि चीन भ्रमणमा गएको बताउने गरिएको छ । ओली यसअघि प्रधानमन्त्री हुँदा लिपुलेक, लिम्पियाधुरासहित नेपालको अतिक्रमति भूमि समेटिएको नक्सा जारी गरेका कारण ओलीसँग भारत रिसाएको बताइन्छ । त्यसकारण पनि ओलीलाई भारतले भ्रमणको निम्ता नदिएको राजनीतिक वृत्तमा सुन्न पाइन्छ । हुन त प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने बताइसकेका छन् । यसको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा जर्मनीबाटै नयाँदिल्ली पुगेकी छन् ।
एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले आफ्ना छिमेकी मुलुक जुनसुकैको पहिलो भ्रमण गर्ने निर्णय गर्नसक्छ । भारतबाटै भ्रमण सुरु गर्ने परम्परा तोड्दा ऊ रिसाउँछ कि भन्ने आशंका गर्नु स्वाभाविक पनि हो । तर ‘रअ’ का भूतपूर्व एजेन्ट विष्टले नेपालको सरकार परिवर्तन नै हुने दाबी गरेका छन् । विष्टले सरकार परिवर्तनको विषय उठान गर्नु नौलो भने होइन । यो सरकार बनेको भोलिपल्टैदेखि सरकारको आयुकाबारेमा प्रधानमन्त्रीदेखि सत्तारुढ दलका अरु नेताहरुले दैनिक स्पष्टीकरण दिँदै आएका छन् । अझ विष्टको अन्तरवार्ता सार्वजनिक भएपछि त नेपाली नेताहरु दैनिक सरकार ढल्दैन भनेर विष्टको बोलीमा लोली मिलाए जसरी अभिव्यक्ति दिइरहेका छन् । प्रधानमन्त्री, मन्त्रीहरु र सत्तारुढ दलका नेताहरुले दैनिक भाषण गर्दा सरकार ढल्दैन भन्ने शब्द छुटाउँदैनन् ।
पछिल्ला केही दिनका प्रधानमन्त्री, मन्त्रीका कुुरा सुन्दा उनीहरु नै सरकारको आयुका बारेमा आशंकित छन् कि भन्ने आभाष हुन्छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकार नढल्ने अभिव्यक्ति दिए । प्रधानमन्त्रीको भनाई थियो, ‘केही मान्छे भन्छन्, कामना गर्छन्, यो सरकार ढलिजाओस् । केहीले त जथाभावी बोल्न थाले, अति नै गर्न थाले । अस्ति पुष्पकमल दाहाल प्रचण्ड र रविवाला सरकार हुँदा त्यसै गर्थे । त्यस्तै कुरा अहिले दोहोर्याउन चाहेका छन् । तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् ।’
प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरुका अभिव्यक्ति पनि उस्तै छन् । बुधबारै लमजुङमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पनि त्यही कुरा दोहोर्याए । उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । गुरूङले भने, ‘तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष प्रधानमन्त्री समय पूरा भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए ।
गृहमन्त्री रमेश लेखको भनाई पनि उस्तै छ । बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले पनि वर्तमान सरकार परिवर्तन नहुने बताए । उनको भनाई थियो, वर्तमान सरकार परिवर्तन हुँदैन र मन्त्री पनि हेरफेर हुँदैनन् । वर्तमान समीकरण २०८४ सालसम्म जान्छ ।’
प्रधानमन्त्री र मन्त्रीहरु मात्र होइन, सत्तारुढ दलका नेताले पनि सरकार परिवर्तन नहुने कुरालाई नै आफ्नो भाषणमा प्रमुखताका साथ उठाउने गरेका छन् । पुस १ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले कसैले चाहेर पनि वर्तमान सरकार नढल्ने बताए । उनले भने, ‘अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो, यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन । यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस्।’
यी त प्रधानमन्त्री, केही मन्त्री र सत्तारुढ दलका नेताका अभिव्यक्तिका उदाहरण मात्र हुन् । सत्तारुढ दलका कुनै नेताले कतै भाषण गर्ने अवसर पाए भने सरकार नढल्ने कुरा उठाइहाल्छन् । यो सबैलाई थाहा छ कि कांग्रेस र एमालेबीच मनमुटाव नआउँदासम्म जसले जतिसुकै कराए पनि यो सरकार ढल्नेवाला छैन । यति थाहा पाउँदा पाउँदै पनि प्रधानमन्त्री, मन्त्री अनि नेताहरुका किन यस्ता अभिव्यक्ति आउँछन् ? दैनिक भाषण गर्दा सरकार ढल्दैन भनेर किन भन्नुपर्यो ? किन ‘रअ’ का भूतपूर्व एजेन्ट विष्टले भनेजस्तो भित्रभित्रै गठबन्धनमा धमिरा लागेको त होइन ? यदि होइन भने आममानिसको आशंकामा बल पुग्ने गरी सरकार ढल्दैन भनेर दैनिक भाषण किन गर्ने ?
