काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई छापामारको संज्ञा दिएका छन् । आइतबार नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरुको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी छापामार शैलीमा उत्रिएको बताएका हुन् ।
उनले भने, ‘मैले देख्दा त अहिलेको सरकार ‘छापा–मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन-छापा, मार् सरकार ।’
उनले सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएकाले यो धेरै लामो समय नटिक्ने बताए । एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि लडिरहने बताए ।
उनले भने, ‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले फेरि रोक्ने कोसिस भइरहेको छ । अबका प्रतिगामी, स्वतन्त्रता विरोधी र संकिर्णतावादी कदमहरू लामो समयका लागि हुनै सक्दैनन् । १०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’
अध्यक्ष ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको भन्दै मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको बताए ।
उनले आन्दोलनरत पत्रकारहरूलाई हरेस नखान आग्रह गरे । आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।
