असम्भव छ र कीर्तिपुरको डाँडामा बसेर मासिक चार लाख कमाउन ?

नारायण गाउँले ।
ल्यापटप बोकेर कीर्तिपुरको डाँडामा बस्ने र चार लाख कमाउने क्लिपले धन्न नेपालको टिकट नकाटेको ! प्रसङ्गचाहिँ उल्टो रहेछ । ‘रोजगारीका लागि विदेशिएका युवालाई मुट्ठी उचालेर फर्किनुस् भन्दैमा या फर्काउँछौं भनेर भाषण गर्दैमा ती फर्किन्नन् । त्यहाँभन्दा राम्रो कमाइको अवसर यहाँ नबनाइकन तिनलाई फर्काउन सकिन्न । फर्काउने हो भने या विदेश जान रोक्ने हो भने त्यो अवसर यहीँ बनाउन पर्छ र सकिन्छ भन्ने मैले सोच्छु, हामी सबैले त्यो सोच्न पर्छ ।’

(राजनीतिले या सरकारले नभएर) सूचना–प्रविधिले नेपालजस्तो देशमा हातमा ल्यापटप बोकेर लाखौं कमाई गर्न सकिने अवसर ल्याएको तर त्यसका लागि दक्ष र जानेको जनशक्ति निर्माण गर्न जरूरी रहेको उनको तर्क रहेछ । हामीलाई होइन, आज स्कुल पढ्दै गरेका केटाकेटीलाई सूचनाप्रविधिसँग जोड्न सकियो भने तिनले तीनचार लाख कमाउन सक्ने र विदेश जान नपर्ने कुरो रहेछ ।

तीन चार लाखको कुरोले धेरै हौसिन पर्ने देखिएन । आइटीमा आएको अभूतपूर्व प्रगतिले राजनीतिमा चासो र समय खर्च नगर्ने हो भने नेपालमा बसेर दक्ष युवाले आज पनि लाखौं कमाई रहेकै छन् । सामान्य प्राविधिक साक्षरता हुँदासमेत टिकटकदेखि युट्युव र अन्य सोसल मिडियाबाट लाखौं कमाउनेहरू छन् । वैदेशिक मुद्राको ठूलो स्रोत यो क्षेत्र पनि हो । यो क्षेत्रमा ठूलो रोजगारीको सम्भावना छ । यसलाई प्राथमिक शिक्षासँगै जोडेर लैजान पर्छ भन्नु गलत नहोला । नीतिनिर्माता र सांसदहरूले नै हो शिक्षानीति बनाउने ।

नेताले विदेश जाने युवालाई चुनाव जित्ने बित्तिकै टिकट काटेर फर्काउँछौं भन्नुभन्दा ‘बोलीले मात्र फर्काउन सकिन्न, हामी सबैले त्यो अवसर क्रिएट गर्नुपर्छ, त्यो अवसरका लागि मुख्य रूपमा स्कुलदेखि नै लगानी गर्नुपर्छ’ भन्नु पक्कै गलत नहोला ! युवाको विदेश पलायन रोक्न सक्ने बलियो क्षेत्र आइटी हो र यसमा दक्ष जनशक्ति उत्पादनका लागि हामीले काम गर्नुपर्छ भन्नु पक्कै हावादारी कुरो नहोला । तर हाम्रो समस्याचाहिँ भन्ने तर नगर्ने मात्रै हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *