तिलोत्तमामा सामुदायिक रेल सञ्चालनको तयारी

रुपन्देही । स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको छ । अबको आठ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ ।

प्रारम्भिक सर्वेक्षणबाट रेल्वे निर्माणको लागत झन्डै सात अर्ब रुपियाँ रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । तिलोत्तमा नगरपालिकाको ५२ किलोमिटर लामो चक्रपथमा सञ्चालन हुने उक्त ट्राम÷रेल्वे निर्माणमा समुदायको लगानी रहने नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । हालसम्म ५०५ जनाले प्रतिव्यक्ति एक लाख रुपियाँको दरले सेयर लगानी गरेको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिए । कुल ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेसन बनाइने छ । पहिलो चरणमा दुई वर्षभित्र योगीकुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने घिमिरेले बताए ।

नगरप्रमुख घिमिरेले सामुदायिक रेल्वे निर्माण र सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उल्लेख गरे । नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्वमहाप्रबन्धकसमेत रहेका रेल्वे कम्पनीका प्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भनेअनुसार रेल्वे सेवा सञ्चालन गरिने बताए ।
रेल सञ्चालन भए पनि सडकमा कुनै अवरोध नहुने र कोलाहाल पनि नहुने, वातावरणका कुनै असर नपर्ने उनले दाबी गरे । ट्राम पर्यटकीय रेल भएकाले मानव बस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्या हुँदा ब्रेक लगाएर पनि यो रेल रोक्न सकिने बताइएको समाचार गोरखापत्र दैनिकमा छापिएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *