काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला आन्दोलनमा छ । सरकारले राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपा आन्दोलित भएको हो । उसले दिनहुँजसो सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ । अदालतमा प्रवेश गरेको विषयमा रास्वपा प्रदर्शनमा उत्रिएपछि यतिबेला रास्वपाको आलोचना भइरहेको छ । हुन त रवि लामिछानेले आफू पक्राउ पर्नुअघि सामाजिक संजालमार्फत ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो !’ भन्दै आलोचना गरेका थिए ।
लामिछानेले लेखेका थिए, ‘तिमीहरु राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ? यति गरेपछि भाटभटिनीको इस्यु मोड्नपनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि । ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो । तपाईंहरुका दलका नेता ÷कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईंहरुबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ । ठिक छ, म तपाईंहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’
यस्तो अभिव्यक्तिबाट रवि थप आलोचित बने । तर रास्वपाका कार्यकर्ता भने सरकारविरुद्ध एकोहोरो विरोध प्रदर्शनमा उत्रिएका छन् । सहकारी ठगीमा पक्राउ परेपछि रास्वपाले पार्टी सभापतिलाई निलम्बनसमेत नगरेको भन्दै अहिले पार्टीको आलोचना पनि भइरहेको छ । यसरी आलोचना भइरहेका बेला रास्वपाका उपसभापति डीपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने अभिव्यक्ति दिएका छन् । आइतबार पोखरामा भएको प्रदर्शनको क्रममा उनले भने, ‘म यहाँहरुलाई यो मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामीछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो । यसमा कसले कार्यबाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो । त्यसकारण यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु । उहाँ जहाँ बस्नुहुन्छ । हिरासत रहनुहोला । जेलमा रहनुहोला । रास्वपाको सभापति रवि लामिछाने नै हो ।’
अर्यालको अभिव्यक्तिपछि भने रास्वपाप्रति झनै व्यंग्य गर्न थालिएको छ । जापानमा मानव तस्करीको आरोप लागेका एमाले कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लिलाबल्लभ अघिकारीलाई पार्टीले सबै पदबाट निलम्बन गर्यो भने त्यसपछि प्रहरीले पक्राउ गरेको छ । तर नयाँ दलका उपसभापतिले भने पक्राउ परेका पार्टी सभापति जेल गएको अवस्थामा पनि जेलबाटै पार्टी चलाउने भन्ने अभव्यिक्ति दिएपछि भने रास्वपालाई व्यंग्य गर्न थालिएको छ ।
राजनीतिक विश्लेषक डम्बर खतिवडाले लोकतन्त्रमा जेलबाटै पार्टी चलाउने रे भन्दै व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘ठगीको आरोपमा हिरासत बसेको व्यक्ति कुनै अमुक दलको आजीवन सभापति रे, बाफ रे ! लोकतन्त्र ? अझ जेलबाटै पार्टी चलाउने रे ! जेलबाटै ग्याङ, गिरोह, गुन्डादल, माफिया, तस्करी चलाएका सिनेमा खुबै हेरियो एक जमानामा । देशको राजनीति हिन्दी सिनेमाको कथा भइसक्या हो ?’मोडर्न स्लेभरी’ को पराकाष्ठा !’
चिकित्सक डा. रामेश कोइरालाले विधानअनुसार सदस्य नै बन्न अयोग्य हुने मानिस जेलभित्र पनि सभापति बनिरहने भन्दै अर्यालको भनाईप्रति व्यंग्य गरेका छन् । उनी भन्छन्, ‘दलको विधानको धारा ९३ मा ‘परिवर्तनशील नेतृत्व प्रणाली’ भन्दै दुई कार्यकालभन्दा बढी हुन नपाइने लेखेका छन् त । फेरि विधानअनुसार सदस्य नै बन्न अयोग्य हुने मानिस जेलभित्र पनि सभापति बनिरहने भन्दैछन् । अब यी धाराहरू संशोधन हुनेरहेछन् भनेर त बुझ्ने होला ।’
पत्रकार अनिल गिरी लेख्छन्, ‘रिपोर्टर्स क्लबको विधानमा यस क्लबको अध्यक्ष भन्नाले ऋषि धमला बुझिने छ भनेर लेखे जस्तै रास्वपाको विधानमा पनि त्यस्तै लेख्नुपर्यो म्यानपाउर दाजु ।’