सहुलियतपूर्ण कर्जा सम्बन्धमा थुलुङ दूधकोशी र लक्ष्मी बैंकबीच समझदारी

सोलुखुम्बु । सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भरपालिका निर्माण गर्ने उद्देश्यले सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारी पत्रमा सोमबार दुई पक्षबीच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) को अधिनमा रहि कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने, क्षमता विकास गरी पालिकाभित्रका नागरिकलाई सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट उत्पादनमा जोड दिने र आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने सम्झौतापत्रमा उल्लेख छ ।

यस्तै सम्झौतामा वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पूँजी आर्जन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमशीलतासँग जोडेर विदेशमा आर्जिन गरेको सीप, अनुभव र पूँजीको स्वादेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुर्याउने तथा वित्तीय पहुँच एवं वित्तीय समावेशीतामा अभिवृद्धि गर्नेलगायत उद्देश्य छ ।

गाउँपालिका अध्यक्ष असिम राई र बैंकको तर्फबाट रिटेल फिनानसियल सर्भिस प्रमुख दीपेश आमात्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी पत्रमा उल्लेख भएअनुसार कार्यक्रम अगाडि बढाउनका लागि दुई पक्षबीचको भूमिका उल्लेख गरिएको छ ।

गाउँपालिकालका तर्फबाट सहुलियतपूर्ण कर्जाका लागि एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) लाई कार्यान्वयनका लागि इच्छुक समूह, उद्यमी, फर्म तथा सहकारीलाई उद्यमशीलतासम्बन्धी आवश्यक सीप प्रदान गर्ने र उनीहरुलाई कर्जाका लागि सिफारिस गर्नुपर्ने छ ।

यस्तै बैंकले लगानी गरेको समूहको उत्पादन वृद्धिका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने, पालिकाको सिफारिसमा बिना धितो लगानी गरिएका कर्जाको असूलीमा समस्या भएमा पालिकाले सहयोग गर्ने र कर्जा जोखिम न्यूनीकरणका लागि पालिकाले विपद् कोष स्थापना गर्नुपर्ने छ ।

यस्तै बैंकको तर्फबाट पालिकाले सिफारिस गरेका फर्म, उद्यमी, समूह तथा सहकारीलाई पहिलो प्राथमिकताका साथ आफ्नो शाखामार्फत सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत)को आधारमा कर्जाको सीमा निर्धारण गर्नेलगायत भूमिका रहेको छ ।

यसरी सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बैंकसँग सम्झौता गर्ने थुलुङदूधकोशी गाउँपालिका प्रदेश नं १ मा पहिलो रहेको गाउँपालिका अध्यक्ष असिम राईले दाबी गरे । देशको ७५३ वटा स्थानीय तहमध्ये पहिलो सम्वृद्ध गाउँपालिका निर्माणको महाअभियानमा रहेको भन्दै अध्यक्ष राईले जनजीविकाको सवालमा आफूहरु जिम्मेवार ढङ्गले काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *