काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गरेकी छन् । गोरखा म्युजिक काठमाडौँद्वारा बिहीबार आयोजित कार्यक्रममा उनले गीतको लोकार्पण गरेकी हुन् ।
गीतको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले जलस्रोतको धनी देश नेपालले पानीको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । उनले पानीको राम्रोसँग व्यवस्थापन गर्नसके मुलुकलाई प्रगतितर्फ डोर्याउन सकिने उल्लेख गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले अहिले मुलुक बाढी, पहिरोबाट आक्रान्त रहेको उल्लेख गर्दै सबै मिलेर विपदमा सहयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा गीतका रचनाकार तथा गायक बमबहादुर कार्कीले पानीको महत्व उजागर गरेर गीत लेखेको बताए ।
गीतमा कार्कीसहित अर्जुन सुनाम र लोचन भट्टराईको स्वर तथा सङ्गीत बिवी अनुरागीको रहेको छ । गीतको श्रव्यदृश्यमा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर र सगुन कार्कीले अभिनय गरेका छन् ।