काठमाडौं । आज मार्गशीर्ष शुक्ल पूर्णिमा किराँत समुदायले उधौली साकेला धुमधामसँग मनाउँदैछन् । याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली साकेला र लिम्बुहरुको चासोक तङ्नाम देशभर मनाइँदैछ ।
किराँत भित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिएपनि समग्रमा उधौलीका नामले चिनिन्छ । किराँत समुदायले अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने, पितृलाई स्मरण गर्ने र अन्नबाली खानका लागि इष्टदेवतासँग अनुमति माग्ने पर्वको रुपमा उधौली सकेला मनाइन्छ । बाली लगाउने बेला अर्थात् वैशाख पूर्णिमाका दिन उभौंली अर्थात यावा पर्व मनाइने प्रचलन पनि रहेको छ ।
देशका विभिन्न ठाउँबाट काठमाडौं आई बसेका किराँत समुदायका मानिसहरुले आज ललितपुरको हात्तीवनमा रहेको किराँतकाल देखिएको ऐतिहासिक धार्मिक तिर्थस्थलमा पुगि पूजाआजा गरेर किराँत चाड विशेष रुपमा मनाएका छन् ।
उधौली पर्वलाई किराँत समुदायले प्रकृतिसँग समेत जोडदै आएका छन् । यसवर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण किराँत जातिले विशेष पूजा मात्रै गरेका छन् ।