प्रधानाध्यापकमाथि भ्रष्टाचारको मुद्दा

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेरा विद्यापीठ मावि श्रीपुरका तत्कालीन प्रधानाध्यापक गोपाल महतो, लेखा सहयोगी अमरदेवप्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोजकुमार महतोमाथि छानबिन शुरू गरेको छ । आव २०७६÷७७ को प्रदेश सरकारको १५ लाखको बजेट प्रअसहित तीन जनाले विभिन्न सामग्री तथा व्यवस्थापन खर्चबापत सिध्याएको तर सामानको लेखाजोखा गर्दा साढे तीन लाख रुपियाँको पनि नपाइएकाले उनीहरूमाथि अनियमितताको आरोपमा छानबिन भइरहेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरी सम्बन्धमा जिप्रका पर्साले उक्त मुद्दा हेर्न अख्तियारको शाखा (जिप्रका) लाई निर्देशन दिएकाले त्यस विषयमा छानबिन भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । पर्साका सहायक प्रजिअ भीमकान्त पौडेलका अनुसार अभिभावक सदा अनवरले दिएको उजुरीका आधारमा छानबिन गर्ने क्रममा १५ लाख खर्च गरिएको बिल भर्पाइसँग सामान रुजु गर्दा साढे ३ लाख रुपियाँको मात्र सामान भेटिएपछि आवश्यक छानबिन र कारबाहीका लागि अख्तियारलाई परिपत्र गरिएको छ । प्रधानाध्यापक गोपाल महतो मावि तह द्वितीय श्रेणीका शिक्षक हुन् । उनले केही महीना अघिदेखि नेरा मावि नगवामा प्रअको जिम्मेवारी सम्हालिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *