नेपालमा केटी कान्डमा परेका विहारका तीन न्यायाधीश बर्खास्त

पटना । भारतको विहार राज्यका तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । केही बर्ष पहिला ती तीनै जना न्यायाधीश नेपालमा महिलासँग आपत्तिजनक स्थितिमा भेटिएका थिए । उक्त कान्ड बाहिर आएपछि उनीहरु विरुद्ध भारतमा कारवाही अगाडि बढाइएको थियो ।
राज्यको सामान्य प्रशासन विभागले सोमबार यस सम्बन्धमा अधिसूचना जारी गरेको छ । उक्त सूचनामा बर्खास्तमा परेका न्यायिक अधिकारीहरुमा हरी निविस गुप्ता, जितेन्द्र नाथ सिंह र कामल राम भएको उल्लेख गरिएको छ ।
अधिसूचनामा बर्खास्त सन् २०१४ फेब्रुअरी १२ देखि लागु हुने र तीनै जना न्यायाधीश सेवानिवृत्तिपछि प्राप्त हुने सबै लाभबाट पनि बन्चित रहने उल्लेख गरिएको छ ।
त्यतिबेला हरि निवास गुप्ता परिवार न्यायलय, समस्तीपुरका प्रधान न्यायाधीश, जितेन्द्र नाथ सिंह अररियामा अतिरिक्त जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधशि सह मुख्य न्यायिक मेजिस्ट्रेटको पदमा रहेको न्युज एजेन्सी पीटीआईले जनाएको छ ।
उनीहरुलाई नेपालमा विराटनगरको एक होटलमा नेपाल प्रहरीले छापामार्दा पक्राउ गरिएको थियो । पछि उनीहरुलाई छोडिएको तर उक्त घटना सन्चार माध्यमबाट बाहिर आएको थियो ।
पटना उच्च अदालतले उनीहरु विरुद्ध जाँचको आदेश दिएको थियो जसमा उनीहरु दोषी पाइएको थियो र उनीहरुलाई बर्खास्त गर्न सिफारिस गरिएको थियो ।
अधिकारीहरुले उक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर गत बर्ष त्यसलाई खारेज गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *