काठमाडौं । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुसँग भेटघाट गर्ने प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भने अन्य नेतालाई भेट गर्न आफैं निस्किएका छन् । पार्टीभित्रको विवाद बढ्दै गएका बेला प्रधानमन्त्री अरु नेताहरुलाई भेट्न शनिबार बालुवाटारबाट निस्किएका हुन् ।
प्रधानमन्त्री भएपछि प्रधानमन्त्री ओली पहिलो पटक खुमलटार पुगेर पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रचण्डसँग भेट गर्दै गर्दा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार आएका थिए । नेताहरुबीच पार्टीको विवाद समाधानका विषयमा छलफल भएको बताइएको छ ।
प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा पनि पार्टीको विवाद समाधानका विषयमा कुराकानी भएको बताइएको छ । पार्टीमा आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्रीको दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

