नारायण गाउँले ।
हाम्रो चेतनामा ’फुटपाथ’ पस्नै बाँकी छ । बग्गी गुड्ने बेला बनेको न्यूरोड मात्रै होइन, कसैसँग गाड़ी नै नभएको गाउँमा आज पिच हुँदै गरेका सड़कमा समेत फुटपाथ छैनन् । कलिला बालबच्चा आँगनबाट सोझै सड़कमा पसेर स्कुल हिँड्छन्, वृद्धवृद्धा र शारीरिक दुर्बलता भएका व्यक्ति पनि सड़कमैं हिँड्छन् र कुनै स्पिड लिमिट नभएको त्यस्तो सड़कमा मोटरसाइकलदेखि ट्रक र ट्याक्टर पनि गुड्छन् । दुर्भाग्य त के छ भने काठमाडौं होस् या भरतपुर, जति जति घना बस्तीभित्र पस्नुहुन्छ, त्यति त्यति फुटपाथ हराउँदै जान्छ । जबकि हुनुपर्ने ठीक उल्टो हो । बाक्लो आवासीय क्षेत्रमा त दुईतिर पर्याप्त फुटपाथ अनिवार्य जस्तै हुनुपर्ने हो । बस्तीमा बालबच्चा हुन्छन्, तिनलाई डोर्याउँदै स्कुल लैजाने हाम्रा वृद्ध आमाबुबा हुनुहुन्छ, आज गरिबीले नहोला तर ‘ह्वीलचेयर’ प्रयोग गर्नुपर्ने अशक्त नागरिक हुन्छन्, ‘मर्निंङ वाक’ गर्नेहरू हुन्छन्, किनमेल गर्न या अत्यावश्यक कामले ओहोरोदोहोर गर्नुपर्ने हामी नै हुन्छौं ।
सोच्नुस् त धुलो–धुवाँ उड़ाउँदै तीव्र गतिमा गुडि़रहेको ट्रिपर, हावा जस्तै आँखै नहेरी कुद्ने मोटरसाइकिल र स्कुल हिँडिरहेका हाम्रा नानीहरू एउटै लेनमा हुँदा कति सुरक्षित होलान् ? अझ त्यहाँ लट्ठी टेकेर या ह्वीलचेयर प्रयोग गरेर हिँड्ने हाम्रा हजुर्बुबाहरूलाई सम्झिनुहोस् । हाम्रा सड़क साँच्चिकै भयानक, खतरनाक र असुरक्षित छन् । तथ्यले पनि यही भन्छ । माओवादी युद्धमा जति मान्छेको हत्या भयो, त्यसभन्दा बढ़ी त सड़क दुर्घटनामा मान्छे मरिरहेछन् । यस्तो विपत्ति आफ्नै सन्तानमाथि नपर्दासम्म हामीलाई हेक्का नहुने रहेछ ।
ऐतिहासिक शहर या बस्ती त केही गर्न नसकिएला, तर आज कित्ताकाट हुने घडेरी र सड़क पनि १२–१३ फिटका छन् । त्यसमा फुटपाथ बनाउनु कि साइकल गुडाउनु ? रुख रोपेर हरियाली बनाउनु कि बिजुली र इन्टरनेटका तार झुन्ड्याउनु ? भोलि त्यहाँ ढल बनाउने कहाँ होला ? तराईका फाँटमा समेत छ मिटरका बाटा छन् । पूरै पिच छ । फुटपाथ छैन । छ मिटरमा दोहोरो फुटपाथ र दुईवटा गाड़ी गुड्ने सम्भावना एकदम कम हुन्छ । हामीले निर्माण गर्दै गरेको भोलिको बस्ती र शहर कस्तो होला ?
दुई सय वर्ष पहिले डिजाइन भएका लण्डनका बाटाहरूमा सड़कभन्दा फुटपाथ फराकिला छन् । दुई तर्फी रूखहरू छन्, फूलका बोटहरू छन् । पैदलयात्रीलाई सहजता मात्रै होइन, प्रोत्साहन गर्ने गरी बाटोको डिजाइन भएको छ । सड़क उपभोक्ता भनेका गाड़ीवाला मात्रै होइनन् भन्ने चेतना छ । बच्चा बोक्ने बग्गीदेखि ह्वीलचेयर सजिलै अटाउने फुटपाथ छन् । बाटो काट्ने ठाउँमा जेब्राक्रस र लाइट मात्रै होइन, पैदल यात्रीलाई सहज होस् भनेर ठाउँ ठाउँमा सड़क नै खुम्च्याएर एउटा मात्रै गाड़ी पास हुने बनाइएका छन् । शहर या गाउँको मध्य भागमा ’हाइस्ट्रीट’ को कन्सेप्ट छ, जसमा बजारको बीचमा आपतकालीन यातायातबाहेक अरू गुड्दैनन् । वरपर कुर्सी राखिएका हुन्छन् । मान्छे पैदल हिँड्छन् !
बालेनले न्यूरोडमा गर्न चाहेको पनि शायद यस्तै होला । अलिकति पब्लिक कन्सल्टेशन र अन्य निकायसँगको सहकार्यमा उनी चुके होलान् । तर उनको नियत खराब देखिन्न । एउटा भिजन देखिन्छ त्यहाँ । घना बस्ती र बजारभित्र सड़कको प्राथमिक उपभोक्ता पैदलयात्री नै हुन् । तिनको सुविधा र सुरक्षा पहिलो प्राथमिकता बन्नै पर्छ । यदि काम सही र आवश्यक हो भने नाक र ईगोको लड़ाइँ लडेर उनलाई असफल बनाउँदैमा के जीत हासिल हुन्छ र ?
न्यूरोडमा सिङ्गो सरकार एकातिर देखिएपछि बालेनको केही नचल्ला, तर हामीलाई गाड़ी गुड्ने चिल्लो सड़कमात्रै होइन, पैदलयात्रीले सहज आवागमन गर्न सक्ने फुटपाथ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने उनको भिजन चल्नुपर्छ । हाम्रो सड़कको कन्सेप्ट फेरिनै पर्छ । गाउँगाउँमा आज बन्दै गरेका सड़कको स्वरूप बदलिनै पर्छ ।
जति घना बस्ती हुन्छ, त्यति विपत्ति र दुर्घटनाको जोखिम पनि हुन्छ । त्यसैले एम्बुलेन्स दमकल गुड्ने सड़क पनि चाहिन्छ, पैदलयात्रीले सुरक्षित र सहज अनुभव गर्ने फुटपाथ पनि चाहिन्छ र शहरलाई पार्किंग पनि चाहिन्छ । पार्किंग नहुने हो भने शहरको अर्थतन्त्र मर्छ ।
न्यूरोड यत्तिकै छोडेर, पार्किंग ठेकेदारबाट लाख–दश लाख कमिशन खाएर उनी चुप बस्न पनि सक्थे, तर उनले पैदलयात्री बारे सोचेका छन् । फुटपाथको महत्त्व र औचित्यबारे एउटा राष्ट्रिय बहसको उत्थान गरेका छन् । उनले सँगसँगै सड़क र पार्किंगबारे पनि सोचेका होलान् । सुरुवातमैं पार्किंग र सार्वजनिक शौचालयबारे उनले चासो देखाएकै थिए ।
नाम न्यूरोड भए पनि आफैमा यो पुरानो सड़क हो । न्यूरोडको यो द्वन्द्वलाई ईगोको लडाइँ नबनाई हाम्रा सड़कको स्वरूप र संरचनाबारे सिर्जनात्मक बहसको शुरुवात बनाउन पनि सकिन्छ । कसै न कसैले यसको सुरुवात गर्नै पर्ने थियो । काठमाडौंले गरेको छ, बालेनले गरेका छन् । हामी पनि गरौँ ! आउनुस्, यससँगै अर्को प्रश्न पनि सोधौँ, नेताले चाह्यो भने एक हप्तामा अल्टिमेटमदेखि सड़क पिचसम्म सबै हुँदो रहेछ तर आमनागरिकले आजीवन धुलो र धुवाँ खाएर भत्केको सड़कमा हिँड्न पर्ने चाहिँ किन होला ?
