टी-२० विश्वकपमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । डल्लासस्थित ग्राण्ड प्राइरिए स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरु हुनेछ ।

नेपाल सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपपछि नेपाल पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदैछ ।  आज हुने खेलमा दुवै टोली जित निकाल्दै विश्वकपको शुरुवात गर्न चाहन्छन् । ग्रुप अफ डेथ मानिएको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्स वरीयताको अन्य टोलीभन्दा तल रहेका दुई टोली हुन् । बाँकी सबै टोली वरीयतामा अगाडि रहेका छन् । त्यसैले टेस्ट राष्ट्रविरुद्ध खेल्नु अगाडि दुवै टोली आज जित निकाल्न चाहन्छन् ।

दुवै टोली एकै स्तरको भएको हुँदा आजको खेल प्रतिस्पर्धात्मक हुनेमा शंका छैन । दुई टोलीबीच हालसम्म ११ खेल भएको छ । जसमा नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले ५ खेल आफ्नो पक्षमा पारेको छ । पछिल्लोपटक दुई टोलीबीचको भेट कीर्तिपुरमा भएको छ । टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

योपनि पढ्नुहोस् – १० वर्षपछि विश्वकपमा सहभागिता जनाउँदै नेपाल

नेपाल आज सोहि खेलको हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । नेपालले आफ्नो पछिल्लो ५ खेलमा तीन जित र दुई हारको नतिजा निकालेको छ । विश्वकप अन्तर्गत क्यानडाविरुद्ध भएको अभ्यास खेलमा ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो भने अमेरिकासँगको खेल वर्षाको कारण रद्द भएको थियो ।

यता नेदरल्यान्ड्सलेपनि पछिल्लो पाँच खेलमा दुई जित र तीन हारको नतिजा निकालेको थियो । आयरल्याण्ड र स्कटल्याण्ड सम्मीलित त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले खराब प्रदर्शन गरेको थियो । तर विश्वकपको अभ्यास खेलमे नेदरल्यान्ड्सले टेस्ट राष्ट्र श्रीलंकालाई २० रनले हराएको थियो भने क्यानडाविरुद्धको खेल वर्षाको कारण रद्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *