सातौँ सिने सर्कल अवार्ड सौगात र स्वस्तिमा सर्वोत्कृष्ट

काठमाडौँ । ‘सिने सर्कल अवार्ड’ को सातौँ शृङ्खला आज सम्पन्न भएको छ । विसं २०८० मा प्रदर्शन गरिएका चलचित्र मध्येबाट २३ विधाका उत्कृष्ट चलचित्रलाई ‘आर्मी अफिसर्स क्लब’मा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो ।

समारोहमा अभिनेतातर्फ ‘अगस्त्य’ चलचित्रबाट सौगात मल्ल, अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का सोही चलचित्रबाट निर्देशक निश्चल बस्नेतले अवार्ड प्राप्त गरेका छन् ।

नव निर्देशकको अवार्ड उपेन्द्र सुब्बा (जारी), सम्पादक निमेष श्रेष्ठ (दिमाग खराब), छायाँकार सुशन प्रजापति (दिमाग खराब), पटकथा उपेन्द्र सुब्बा (जारी), खलपात्र प्रमोद अग्रहरि (अगस्त्य), पोस्टर डिजाइन राकेश दाहाल (बुलाकी)ले प्राप्त गरे । त्यसैगरि ट्रेलर बन्दे प्रसाद (काँडेतार), स्टन्ट लक्ष्मण सेञ्चुरी (काँडेतार), गायक निशान भट्टराई (परदेशी २), गायिका अन्जु पन्त (बगान), भीएफएक्स अनुपम गौतम (उपहार), द्वन्द्व निर्देशन श्री श्रेष्ठ (अगस्त्य), नृत्य निर्देशन रामजी लामिछाने (नाङ्गो गाउँ), सङ्गीतकार सुवास भुसाल (बगान) ले अवार्ड प्राप्त गरे ।

अवार्ड समारोहमा सम्पादक नरेन्द्र खड्का र शृङ्गार कलाकार (मेकअप आर्टिस्ट) अशोक रोक्कालाई जनही नगद ५१ हजारसहित ‘दीर्घसाधना सम्मान’ प्रदान गरियो । यस्तै, जोडी कलाकारको अवार्ड दयाहाङ राई र मिरुना मगर, ‘ट्रेन्ड सेटर’ निर्देशकको अवार्ड प्रदीप भट्टराई र रामबाबु गुरुङलाई प्रदान गरिएको छ । गतवर्ष सर्वाधिक व्यापार गर्ने चलचित्रको अवार्ड ‘जारी’ ले प्राप्त ग-यो ।

आयोजित अवार्ड समारोहमा गायक यम बराल, गायिका देवीका बन्दनालगायतले साङ्गीतिक प्रस्तुती दिए  । अवार्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीलाई प्रोत्साहन दिने उद्देश्यले अवार्ड दिइएको बताए । उनले भने, “चलचित्रकर्मीले वर्षभर गर्नुभएको कामको समीक्षा हामीले हाम्रो निर्णायकमार्फत गरेका हौँ । उहाँहरूको कामलाई थप प्रोत्साहन दिनु हाम्रो उदेश्य हो । गएको वर्ष नेपाली चलचित्रका लागि सुखद भएको हामीले बुझेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *