सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकलको पछाडि सवार २३ वर्षीय इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते हुनुभएको छ । विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नं. को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो ।
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
लागर्चेमा बोलेरो दुर्घटना, यात्रु सकुसल
मेलम्चीबाट भोताङ जाँदै बोलेरो दुर्घटना भएको छ । पसलको सामान बोकेर भोताङतर्फ जाँदै गरेको बा ११ च ९४४२ नम्बरको बोलेरो पाँचपोखरी ८ लागर्चेको आएडाँडोमा दुर्घटना भएको प्रहरी चौकी खाल्डेका प्रहरी हबल्दार जयराम काफ्लेले जानकारी दिए ।
बोलेरोमा सवार चार जना सकुसल रहेको र बोलेरो करिब ३० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
