बर्दिया । मुलुकको समग्र सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका अधिकृतदेखि जवानसम्मलाई कोरोनालगायत अन्य संक्रामक रोगका बारेमा जानकारी दिन सशस्त्र प्रहरी बलले चिकित्सकसहितको टोली परिचालन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रुपन्देही, कपिलवस्तु, बाँके बर्दियाको निरीक्षणका क्रममा सुरक्षा मात्र होइन, रोगका बारेमा समेत आफ्ना सदस्यहरुलाई जानकारी गराउन चिकित्सकसहितको टोली आफैसँग लिएर गएका थिए ।
चिकित्सक अपूर्व श्रेष्ठको कमान्डमा खटिएको चिकित्सकको टोलीले सशस्त्र प्रहरी बलको बाहिनीदेखि बोर्डर आउटपोस्ट ९बीओपी०सम्म खटिएका कोभिड–१९ को संक्रमण र यसले पार्ने असर तथा यसबाट बच्न अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा कार्यक्षेत्रमा नै गएर प्रशिक्षण दिएको थियो ।
चिकित्सकको टोलीले लाखौं मूल्य बराबरको औषधी वितरण मात्र गरेन, यसको प्रयोगको विधिका बारेमा समेत जानकारी गराइरहँदा महानिरीक्षक खनालले भने चासोपूर्वक ती विधिका बारेमा आफूले समेत जानकारी लिने काम गरेका थिए ।
महानिरीक्षक खनालले आफ्नो कार्य क्षेत्रभित्रका जनतामा संक्रमण देखिए उनीहरुको सुरक्षा र सुरक्षित तवरले सुविधा सम्पन्न अस्पतालमा पुर्याउन मातहतका सबै निकायलाई निर्देशन दिएका थिए ।
सुरक्षा निकायका उच्च अधिकारीको पहुँच दुर्लभ हुने बाँके र बर्दियाको सीमा क्षेत्रमा आईजीपी खनालको भौतिक उपस्थिति देखेका जनताले न्यानो स्वागत मात्र गरेनन् मुलुकमा सरकार छ भन्ने भान आईजीपीको उपस्थितिले पुष्टि गरेको बताएका थिए ।
बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टको निरीक्षण गर्न पुगेका आईजीपी खनाललाई स्थानीय जनताले आफ्ना व्यक्तिगतदेखि सामूहिक समस्याका बारेमा जानकारी गराउँदै स्थानीयले राखेको समस्या समाधानका लागि मातहतका निकायलाई तत्कालै निर्देशन दिएकोमा स्थानीय समाजसेवी दुर्गाप्रसाद भट्टराईले धन्यवाद व्यक्त गर्दै आईजीपी खनाललाई पुनः भगरैयाका जनताले देख्न चाहेको बताएका थिए ।
मुलुकभर रहेका सशस्त्र प्रहरीका अधिकृतदेखि जवानसम्मले कसरी काम गरेका छन् भन्नेबारेमा नजिकबाट हेर्न आएका खनालले पटकपटक निर्देशन दिँदै भने ‘अपराध र अपराधीलाई पराजित गर्न स्थानीय तहमा देखिएका समस्या समाधानमा गुनासो आउन दिन्नँ ।’
कार्यक्षेत्रमा खटिएका अधिकृत तथा जवानहरुले संगठनले अख्तियार गरेको नीतिबाट कहिल्यै दायाँबायाँ नभएको र हुन नदिने भन्दै आईजीपी खनाललाई आश्वस्त पारेका थिए । आफ्नै संगठन प्रमुखलाई भौतिकरुपमा नजिकबाट देख्न पाएका उनीहरुले कार्यक्षेत्रमा खटिएर काम गर्न थप हौसला मिलेको बताएका थिए । उनीहरुले आफ्नो कार्य क्षेत्रभित्र कुनै अपराध हुन दिने वचनबद्धता व्यक्त गरेका थिए ।
निरीक्षण भ्रमणमा आईजीपीसँगै रहनुभएका नम्बर ५ विन्ध्यवासिनी बाहिनीका बाहिनीपति किशोर प्रधानले कोरोना संक्रमणपछि नेपाल सरकारले नेपाल–भारत सीमा क्षेत्र बन्द गरेको घोषणा गरे पनि खुला सीमानाका कारण भारतीयहरु जबरजस्ती नेपाल प्रवेश गर्ने र अवैधरुपमा सामान ओसारपसार प्रमुख चुनौती रहेकाले त्यसलाई रोक्न बल सफल भएको बताए ।
