प्रज्ज्वल थापा । गौतम बुद्व कप क्रिकेटमा राप्तीले दोस्रो जित निकालेको छ । सोमबार दिउँसो भएको खेलमा राप्तीले नारायणीलाई एक विकेटले पराजित गरेको हो ।
भरतपुर स्थित निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा १३९ रनको विजयी लक्ष्य पछ्याएको राप्तीले १९.५ ओभरमा १३९ रन बनाउदै लक्ष्य भेट्टाएको थियो । राप्तीको लागि कुशल भुर्तेलले विष्पोटक बयाटिङ गर्दै जितको आधार बनाएका थिए । उनले ४१ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा सार्वधिक ६५ रन जोडेका थिए । यस्तै अशिफ सेखले १४ सुमित महर्जनले १२ र कमल एरीले २४ रनको योगदान गरे ।
करण केसीले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिएर ३ विकेट लिए । यस्तै किशोर महतो र सुशान भारिले २-२ विकेट लिँदा दिपेश श्रेष्ठले समान एक विकेट लिए ।
यसअघी टस जितेर ब्याटिङ गर्न उत्रिएको नारायणीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो । नारायणीको लागि करण केसी र किशोर महतोले बाहेक अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । ओपनर राजु रिजाल खाता नखोली आउट हुँदा अर्का ओपनर रित गौतमले १३ रन जोडे । यस्तै इसान पाण्डेले १० रन जोड्दा सुशान भारीले १८ रन जोडे । १५.५ ओभरमा सुसान आउट हुँदा नारायणीले खातामा मात्र ७९ रन जोडेको थियो । त्यसपछी ब्याटिङ गर्न आएका करण केसी र किशोर महतोले विष्पोटक ब्याटिङ गरेपछी नारायणी सम्मानजनक स्कोरमा पुगेको थियो । करण केसीले २२ बलमा तीन चौका र १ छक्का प्रहार गर्दै ३२ रन् जोडे । यस्तै किशोर महतोले १४ बलमा ३६ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे ।
राप्तीको लागि सुर्य तमाङ र अविनाश बोहोराले २/२ विकेट लिँदा जितेन्द्र मुखिया, भुवन कार्की र कमल एरीले एक-एक विकेट लिए ।
दुई टोलीबिच फाइनल खेल भोली हुनेछ ।
