काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ । महानगर दिवस दिवसका आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरले ‘मृगौला बचाउ अभियान’ घोषणा लगाएतका कार्यक्रम गर्दै दिवस मनाउन लागिएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको जानकारी दिए ।
उनले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको जानकारी पनि दिए ।
यस वर्ष महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने महानगरले जनाएको छ ।
वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष काठमाडौँ महानगरपालिकाले स्थापना दिवस मनाउँदै आएको छ ।
