काठमाडौं । मानव बेचबिखन नेपालको मात्र नभएर अहिले विश्वको साझा समस्या बन्न पुगेको छ । विश्वमा अहिले तस्करी हुनेमध्ये मानव तस्करी तेस्रो स्थानमा आउने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
नेपालमा केही दशकअघिसम्म नेपालबाट भारतमा महिलाको बेचबिखन हुने गरेको थियो भने २०४६ को परिवर्तनपछि विस्तारै मानव बेचबिखन तथा तस्करी तेस्रो मुलुकमा समेत हुन थालेपछि यो समस्या राज्यको टाउको दुखाइको विषय बन्न पुगेको थियो ।
नेपालबाट भारतका विभिन्न वेश्यालयमा नेपाली चेली बेचिने क्रमले तीव्रता पाउन थालेपछि सरकारले नेपाल प्रहरीलाई यसको नियन्त्रण गर्ने जिम्मा दिएको छ ।
प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन नियन्त्रण गर्न मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेर विगतदेखिका यस्ता काममा संलग्न रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रमलाई तीव्रता दिएको छ ।
ब्युरोले बितेको ७ महिनामा मानव बेचबिखनमा संलग्न रहेका १ सय ३८ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।
ब्युरोले पीडितको बयानका आधारमा पीडकको पहिचान गरे पनि पीडितलाई फेला पार्न नसक्दा ३५ जना अभियुक्त अहिले खुलेआमरुपमा हिँडिरहेको निष्कर्ष निकालेको छ ।
ब्युरोका प्रमुख एसएसपी देवबहादुर बोहोराले विगतमा प्रहरी प्रशासनले उजुरी लिँदा पीडितको घर ठेगाना राम्रोसँग उल्लेख नगरिदिएका कारण समस्या उत्पन्न भएको बताए ।
विभिन्न प्रहरी कार्यालयले अहिले बेचबिखनसम्बन्धी मुद्दा ब्युरोमा पठाउने गरेको भए पनि घरठेगाना नै गलत परेकाले पीडकहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको एसएसपी बोहोरा बताउछन ।
ब्युरोले आफ्नो जनशक्तिलाई विभिन्न समूह बनाएर पीडित खोज्न पठाएको भए पनि पीडितहरु नभेटिँदा पीडकहरु पहिचान भए पनि कारबाहीको दायरामा ल्याउन नसकेको उनी बताउछन ।
अहिलेसम्म आएका मुद्दामा १३ वटा ब्युरोमा दर्ता भएको, केन्द्रीय अनुसन्धान ब्युरोले पठाएको २०, महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ६ र महानगरीय प्रहरी परिसर काठमाडौंबाट ९९ वटा मुद्दा आएकोमा २३ वटा मुद्दा फछ्र्योट भएका छन् भने अन्य मुद्दा फछ्र्योट हुने क्रममा रहेको एसएसपी बोहोराले बताए।
एउटै व्यक्तिविरुद्ध ९ वटासम्म मानव बेचबिखनविरुद्ध उजुरी परेको भए पनि त्यस्ता व्यक्ति खुलेआमरुपमा समाजमा बसिरहेको समेत अनुसन्धानको क्रममा प्रहरीले पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको छ ।
नेपाल भारत खुला सीमाक्षेत्रको फाइदा उठाएर मानव तस्करहरुले नेपाली महिला मात्र होइन, बालबालिकाका साथै पुरुषहरुको समेत तस्करी हुने गरेको एसएसपी बोहोरा बताउछन ।
मानव अंग बेचबिखन गर्ने गिरोहले स्वदेशका साथै विदेशमा समेत लगेर मानव अंग तस्करी हुने गरेकाले त्यसलाई नियन्त्रण गर्नसमेत नयाँ योजना अघि सारेको दाबी गर्छन एसएसपी बोहोरा ।
सीमित साधन र स्रोतका बाबजुद ब्युरोले लामो समयदेखि नेपाल प्रहरीका लागि प्रतिष्ठाको विषय बनेका र केन्द्रीय अनुसन्धान ब्युरोले समेत पत्ता लगाउन नसकेका केसहरु मानव बेचबिखन ब्युरोले पत्ता लगाएर अभियुक्तलाई पक्राउ गर्न सफल भएको उनी बताउ छन ।
ब्युरोले मानव बेचबिखनमा संलग्न रहेका त्रिभुवन विश्वविद्यालयका प्राडादेखि जनप्रतिनिधिलाई समेत पक्राउ गरेर मुद्दा चलाएको छ । नेपाल समाचारपत्रबाट
