अमिताभ बच्चन, छोरा अभिषेक बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

काठमाडौँ । भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि बलिउडका हस्तीहरू र उनका प्रशंसकहरूले उनको सुस्वास्थ्यको कामना गरेका छन् ।

आफूलाई कोभिड–१९ भएको उनले गत मध्यराततिर ट्वीटमार्फत् जानकारी गराएका थिए । लगत्तै उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी दिएका थिए ।

दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेकाे एजेन्सीले जनाएकाे छ । त्यसमा बलिउडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न क्षेत्रका मानिसहरू छन् ।

ट्विटरमा अमिताभ बच्चनका चार करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन् ।

अभिताभ बच्चनले ट्वीट गर्दै भनेका छन्, मेरो परीक्षण पोजेटिभ देखिएको छ, अस्पतालमा भर्ना भएको छु। अस्पतालले अधिकारीहरूलाई सूचित गरिरहेको छ । परिवारका सदस्य र हाम्रा कर्मचारीहरूको पनि परीक्षण गरिएको छ र नतिजाको प्रतीक्षामा छौँ ।

उनी ७७ वर्षका छन् । पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका उनले २ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनका छोरा ४४ वर्षीय अभिषेक बच्चनले ५० भन्दाबढी चलचित्रमा अभियन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *