प्रज्जवल थापा । सार्वधिक १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आज हुने खेलमा ‘गर या मर’ को स्थितिमा रहेको छ । नकआउट चरण प्रवेशको लागि आज रियल म्याड्रिडले बोरुसिया मोन्चेनग्लाडबाक पराजित गर्नुपर्नेछ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेलमा रियल म्याड्रिडलाई जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा रियल म्याड्रिड समूह चरणबाट बाहिरिन सक्नेछ । हाल रियल म्याड्रिड ५ खेलमा ७ अङ्क जोड्दै तेस्रो स्थानमा छ । समान अङ्क जोडेको शात्खर हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । यस्तै बोरुसिया ८ अङ्कको साथ शिर्ष स्थानमा रहँदा इन्टर मिलान ५ अङ्कको साथ पुछारमा छ ।
कप्तान सेर्जियो रोमस टोलीमा फर्किएसँगै रियल म्याड्रिड थप बलियो देखिएको छ । रोमससँगै राइट ब्याकद्वय डानी कार्भाहाल र ओर्डिओलापनी टोलीमा फर्किएसँगै म्याड्रिडको डिफेन्स बलियो देखिएको हो । मिडफिल्डमा टोनी क्रुस, केसेमिरो र अर्डिगार्डले शुरुवात गर्दा फर्वार्ड लाइनमा बेन्जिमालाई भिनिसियस र एसेन्सियोले साथ दिने सम्भावना छ ।
समुहको अर्को खेलमा दोस्रो स्थानको शात्खरले इन्टर मिलनको सामना गर्नेछ ।
