काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) र नेपाल एपीएफ स्कुल बीच फुटबल एकेडेमी निर्माण गर्न सम्झौता भएको छ । नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ६ वर्षको सम्झौता भएको हो ।
मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एपीएफका एआईजी पुष्पराम केसीले सम्झौतामा हस्ताक्षर गरे । युवा फुटबल खेलाडीका लागि सहयोग गर्ने उद्देश्यले दुई पक्षबीच सम्झौता भएको एन्फाले जनाएको छ । दुवै पक्ष दीर्घकालीन सम्झौता स्थापना गर्न सहमत भएका छन् जुन शिक्षालाई प्राथमिकता दिने र व्यवसायिक फुटबलसँग मिल्ने लक्ष्य हासिल गर्ने दिशामा दृढ कदम प्रतिनिधित्व गर्नेछ ।
एन्फा अध्यक्ष शेर्पाले नेपाल एपीएफ स्कूलसँग एकेडेमी स्थापना गर्ने सम्झौताको घोषणा गर्न पाउँदा खुसी भएको भन्दै खेलाडी र प्रशिक्षकको विकासका लागि यो ऐतिहासिक सम्झौता भएको बताए ।
सम्झौताको अर्थ एन्फा र एपीएफ स्कुल फुटबल एकेडेमीले संयुक्त रूपमा युवा खेलाडीहरूलाई सहयोग पुर्याउँछ । एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टोलीले २१ खेलाडी छान्नेछ । जसमध्ये १४ खेलाडीलाई एन्फा र एपीएफले प्रायोजन गर्नेछ । दुवै पक्षले कक्षा १२ पूरा नहुँदा सम्म खेलाडीहरुको शैक्षिक लागत बेहोर्ने एन्फाले जनाएको छ ।