डलर देखाएर ठगी गर्ने दम्पतीसहित तीन जना पक्राउ

काठमाडौं । डलर देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ठगी आरोपमा पक्राउ परेकाहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकी ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मी रहेका छन् ।

यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन् । उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइए प्रहरीले जनाएको छ । उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ । उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन् । प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *