घुससहित पक्राउ परेका उपसचिव नेपाल दोषी ठहर, एकवर्ष कैद र ६ लाख जरिवाना

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले दोषी ठहर गरेको छ । शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको हो ।

यो प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो । एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन पर्यटन मन्त्रालयमा आवेदन दिएका थिए ।

तर रकमको मोलमोलाइ गरेर उपसचिव नेपालले फाइल थन्काइदिएपछि ती सेवाग्राहीले पैसा दिएर काम अगाडि बढाएका थिए । सोही क्रममा घुस लिँदालिँदै नेपाल पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *