मेलमिलापको नीति वा कार्यनीति वस्तुतः बीपीको एउटा ‘लाउड थिंकिंङ’ थियो

जेपी गुप्ता ।
१.  विश्वेश्वरप्रसाद कोइरालाका केही विचारहरूलाई आज गलत उद्धरणको रूपमा उल्लेख गरिने गरिन्छ । राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा खासगरी फरक किसिमबाट उल्लेख गरिने गरिएको देखिन्छ । हिजोका दुर्दान्त मण्डलेहरू र सदैव प्रजातन्त्र हत्याका समर्थक कम्युनिष्टहरूले पनि यता बात बातमा काँग्रेसीहरूलाई उपदेश दिने गरेका हुन्छन् । यस्ता उपदेश प्रायसः तिनीहरूले राजतन्त्र, राष्ट्रियता, भारतको बिरोध तथा मेलमिलापका सन्दर्भमा फलाकि रहेका हुन्छन् । उदाहरणका लागि तिनीहरूले बीपीका समयका चुनावी घोषणापत्रका युक्तिहीन अंशहरू, राजाको घाँटी र मेरो घाँटी संगै जोडिएको छ भन्ने प्रसंग अनि मेल मिलाप कार्यनीतिका केही मनगढन्त व्याख्यालाई प्रयोग गरिरहेका हुन्छन् र वास्तवमा बीपीको बिचार सम्पूर्ण रूपमा कहिल्यै पनि कुनै घोषणापत्रमा समाविष्ट छैन। न त ०७ सालको क्रांति कालमा, न त ०१५ को आम निर्वाचनमा । पार्टीको विधानलाई पनि यसै रूपमा बुझ्नु पर्दछ। पार्टीका यी दस्तावेजहरू जहिले पनि विभिन्न नेताहरू वा सोचहरूका समिश्रित रूपमा पारित गरिएका हुन्छन। जबकि, बीपी गहन सवालहरूमा दार्शनिक दृष्टिकोण राख्नु हुन्थ्यो।

व्यक्तिगत सोचमा बीपी सदैव,शायद जीवन पर्यन्त पनि राजतन्त्र, धार्मिक राज्य र संशोधित प्रजातन्त्र वा मोडेल डेमोक्रेसी जस्ता बिषयको पक्षपाती रहनु भएन । राजतन्त्र, धर्म बारे राज्य र प्रजातन्त्रका बारे उहाँका साहित्यको अध्ययन गर्दा स्पष्ट हुनजान्छ। धेरैले बीपीको ‘राजतन्त्र’ शीर्षकको लेख नै नपढेको हुन सक्छ । जहाँ बीपीले नेपाली समाजमा राजतन्त्रको आधार उपर नै प्रश्न उठाउनु भएको छ। सन् १९६८ मा बीपीले वाराणसीको एक सम्मेलनमा ‘एशियन च्यालेन्ज एण्ड गांधीज्म’ विषयमा बोलेकोबाट नृशंस राजतन्त्रका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ।

शिवरात्रीको दिन एकजना जर्मन पत्रकारलाई पशुपतिको अपार श्रद्धालु देखाउदै बीपीले भनेको कि ‘म निजी रूपमा धर्म मान्दिन । तर, पूर्व–पश्चिम पुरै नेपालबाट कयौं दिन पैदल हिडेर यहाँ मूर्तीको पूजा गर्न आएकाहरूको आस्था पनि म बदल्न सक्दिन।’ शायद धेरैले छापिएको यस तथ्यको पनि स्मरण गर्दैन आजभोलि । नेपालको सन्दर्भमा धर्म निरपेक्षता ठिक नहुन सक्छ। तर, धर्म निरपेक्षता बीपीको निजी सोच थियो।

राष्ट्रिय एकता तथा मेलमिलापको कुरा गरेर बीपीको स्वदेश आगमनलाई धेरैले तत्कालिन भारतमा इन्दिरा गान्धीको नेपाल खाने योजनालाई बीपीले लत्याएको भनि अर्थ्याएको देखिन्छ। मर्नु परेपनि नेपालमै मर्ने तर इन्दिरा गान्धीको योजनामा सरीक नहुने भनेर बीपीलाई आजको संकुचित तथा बजारीकरण गरिएको राष्ट्रवादसँग जोड्न खोजेको देखिन्छ। मेलमिलापको नीति वा कार्यनीति वस्तुतः बीपीको एउटा ‘लाउड थिंकिंङ’ थियो। जसलाई सन् ७० को दशकको अन्त्य तिरको शीतकालिन विश्व राजनीतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ। यसको सारको रूपमा, अमेरिका सबैतिर प्रजातान्त्रिक आन्दोलनहरूको रक्षा गर्न नसकेको, कम्युनिष्टहरूको मुकाबिला गर्न तानाशाहहरूलाई संरक्षण गरिरहेको एक बिशेष स्थिति रहेको बुझ्नु पर्दछ। अर्को तिर सोभियत संघ, खासगरी प्रजातान्त्रिक मुलुकहरूमा कम्युनिष्टहरूको सहयोगमा सत्ता हत्याउन चाहेको र मध्य तथा दक्षिण एशियाली मुलुकहरूको स्वतन्त्रता अफगानिस्तानमा सोभियत कब्जाले गर्दा खतरामा परेको बुझाई हो। यस सन्दर्भमा, इन्दिरा गान्धीको बारेमा बीपी स्पष्ट हुनुहुन्थ्यो कि उनी सोभियत संघका पिछलग्गू थिइन् । तिनताकमा नेपालका राजा वीरेन्द्र कम्युनिष्टहरूको जालमा परेको र प्रजातन्त्रवादीहरूलाई समाप्त पारेर कम्युनिष्ट नियन्त्रणको पञ्चायती व्यवस्थालाई दरो बनाउने सोभियत डिजायनले अन्ततः नेपालको स्वतन्त्रतालाई नै समाप्त पार्ने बीपीको बुझाई रहेको थियो। यस तथ्यसँग राजालाई सहमत गराएर मुलुकलाई प्रजातान्त्रिकरणको दिशामा लिई जानु बीपीको नीति भनौं वा दृष्टिकोण थियो।

आज, हवाई जहाजमा सवार काँग्रेसी, आकाशमा उडीरहेको जहाजमा कुनै प्राविधिक गडबडी भएमा बीपीको मेलमिलापकै नीति पल्टाएमा पाइलटले त्यसको मर्मत गर्न सक्ने, समाधान गर्न सक्ने गरी जसरी अर्थ लगाइरहेको देखिन्छ–यसको त्यस्तो सर्वकालिक व्यापकता शायद बीपीले सोच्नु भएन होला। रोजगारी, जनताको आयबृद्धि, सर्वशुलभ स्तरीय शिक्षा, जनताप्रति लक्षित जन स्वाथ्य नीति, समावेशीकरण जस्ता आधारभूत बिषयहरू–जुन जनताका आधारभूत खोजी र चाहना हुन्, यसको समाधान पनि बीपीको त्यस सोचबाट खिच्ने प्रयत्न त वास्तवमा दिशाहीनता हो। न कि, बीपीप्रतिको आस्था।

२, परशुनारायण चौधरी ४/५ दिन अघि मात्र पञ्चायत पस्नु भएको थियो । आफ्ना केही साथीहरूका साथ उहाँले निकालेको वक्तव्यको शीर्षक ‘अबको नयाँ बाटो’ राख्नु भएको थियो । जनमत संग्रह ताकाको प्रचारका क्रममा बीपी कोइरालाले बहुदल आए परशुनारायण नेपालको प्रधानमन्त्री हुने भन्नु भएको थियो । यस्तो मानिस सुटुक्क पञ्चायत पसेको सन्दर्भमा बीपीको रोजाईकाबारेमा पनि प्रश्न उठेको थियो । परशजीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन । ‘नेपाली जनताले जुन कारणले परशुनारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।’ यही थियो बीपीको प्रतिकृया । आजको जस्तो तथानाम गाली गरेर उहाँले केही भन्नु भएन । वा, भित्र भित्र कुरा मिलाएर गएका हुन कि; यस्तो आशंका गर्ने पनि केही थिए ।डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेस्वर सिंह–यस्ता मानिसहरूको सूचि लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । सहकर्मीको रोजाईमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो ।

बीपी १९७७ नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुँदा परशुनारायण र गिरिजा बाबु दुबै जनालाई पटना–काठमांडूको हवाई जहाजमै उहाँले प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री बनाउनु भएको थियो । यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । फेरि लेखौंला । यसरी एकै पटक दुई जना महामन्त्री भएको शायद गिरिजा बाबुलाई त्यतिसारो मन परेको थिएन क्यार ! त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशजीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको थियो । खानाको अन्त्यमा बीपीले रूचिपूर्वक खीर खाँदै गर्दा चक्रजी, चक्र बास्तोलाले कुरा उठाइहाल्नु भो । यो कुरा फेरि गिरिजाबाबुको पनि रूचिको कुरा भएको थियो । त्यसैले बीपीले यसको जवाफ नपन्छाउनु होस भनेर गिरिजाबाबुले चक्रजी तिर उन्मुख हुँदै जिज्ञासा गर्नु भो, ‘के भन्नु भो अरे चक्र जी ? बीपी, गिरिजाबाबु, सुशील दा, शेख इद्रीस, वीरेन्द्र दाहाल, म; हामी सबै चक्रजीका प्रति उन्मुख भयौं । चक्रजी बीपीसँग सदैव निर्भिक रहनु हुन्थ्यो । गिरिजाबाबु सदैब थिचिएको ! चक्रजीले भन्नु भयो, ‘हैन सान्दाजु, परशु नारायणलाई त तपाईले निकै पत्याउनु भएको थियो । उनले धोका दिए । तपाईलाई शंका थिएन ? के पहिले देखिनै उनीप्रति तपाईको विश्वास अडीग थियो र ?’

बीपीले चक्र जीलाई भन्दापनि गिरिजा बाबु तर्फ मुखातिव हुँदै सोध्नु भयो–गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजा बाबुले संकोचका साथ भन्नु भयो–म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नु भयो–ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसँग रहेनन् ? बीपीले थप्नु भयोः सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहां हुन्छ र ? यो सर्वकालिक हुँदैन । मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालिक परिस्थितिलाई भने उसको बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र निःस्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भैरहँदैन । सबैले विस्तारै दुधको खीर सकेका थिए । मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपी वाहेक हामी सबैलाई उद्वेलित पारेको थियो । मेरो ऊ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो; मेरो लागि आज पनि प्रश्न रहित नै छ । हो त, कोही सँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भैरहदैन । को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान भने सर्वकालिक नै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *