काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता केदार कार्कीसहित आठ सांसदले विद्रोह गरेपछि यतिबेला नेपाली राजनीतिमा कोइरालाको चर्चा चुलिएको छ । कोइराला पक्षको विद्रोहमा नेकपा एमालेले साथ दिएको छ । एमालेले साथ दिएपछि कांग्रेस नेता कार्की मुख्यमन्त्री बनेका छन् । कोइराला पक्षको विद्रोहबाट नेकपा एमाले भने उत्साहित बनेको छ । यतिसम्मकी नेकपा एमालेका केही नेताले त शेखरलाई अबको प्रधानमन्त्रीको रुपमासमेत अथ्र्याउन थालेका छन् । हुन त शेखरको चर्चा अहिले मात्र भने भएको होइन । पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा शेखरलाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेका थिए ।
पार्टीका युवा महामन्त्री थापाले यस्तो घोषणा गरेपछि कोइराला आगामी महाधिवेशनमा सभापति हुने पक्कापक्की भएको आँकलन गरिएको थियो । तर कोशी प्रदेशमा कोइराला पक्षीय नेता केदार कार्कीसहित आठ सांसदले विद्रोह गरेपछि भने कोइराला पक्षीय नेताको विद्रोहमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापानै असन्तुष्ट देखिएका छन् । कार्कीको विद्रोहमा सभापति शेरबहादुर देउवाले मौन समर्थन गरेपनि दुई महामन्त्रीले भने मुख खोलेका छन् । मुख्यमन्त्री भएपछि शनिबारै आफ्नो निवासमा बोलाएर सभापति देउवाले कार्कीलाई बधाइ दिएपनि दुई महामन्त्री भने असन्तुष्ट देखिएका हुन् । महामन्त्री थापाले यसबारे आफ्नो असहमति राखेका छन् । थापाले त कांग्रेस पार्टीलाई माओवादीकरण एमालेकरण र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने बताएका छन् । उनले कांग्रेसलाई कांग्रेसजस्तै बनाउने र नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउने बताएका छन् । महामन्त्री थापाले पार्टीमा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति नगर्ने पनि बताएका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लामै टिप्पणी लेखेका छन् । उनले माओवादीसँग डिभोर्स नै गर्ने हो भने सहमतिमा गर्न सकिने तर घरमा ठाकठुकमा छिमेकीसँग लहसिन नहुने बताएका छन् । उनको टिप्पणी छ, ‘काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन संसद विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो । काँग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं तर पार्टीको संस्थागत निर्णय मान्यौं । यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।’ यस प्रकरणमा महामन्त्रीद्वय थापा र शर्मा अब कोइरालाले नेतृत्व गर्ने इतर खेमामा नरहेको स्पष्ट संकेत मिलेको छ । उनीहरुले सभापति देउवालाई भेटेर यस प्रकरणमा सभापति र शेखरले जवाफ दिनुपर्ने बताएका छन् । साथै उनीहरुले यसमा सभापति देउवा र शेखर दुबै दोषी भएको बताएका छन् ।
कोशी प्रकरणमा पार्टी उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि असन्तुष्ट देखिएका छन् । उनले पनि यस प्रकरणमा मौन बसेर असन्तुष्टि जनाएका छन् । त्यस्तै यसअघि आफूलाई शेखर पक्षीय बताउने कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि शेखरको कदमप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफल नगरी यस्तो कदम चालिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
यसबाट कोइराला पक्षमा दरार पैदा भएको भने स्पष्ट भएको छ । मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं आएर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आशिर्वाद लिइसकेका छन् । त्यसक्रममा ओलीले सहमति नभुल्न पनि मुख्यमन्त्री कार्कीलाई सम्झाएका छन् । मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत प्राप्त गरिसकेका छन् । कार्कीलाई राप्रपाका पाँच सांसदबाहेक सबैले अर्थात् ८६ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् । उनले एमालेका एकजना मन्त्रीसहित सानो मन्त्रिमण्डल पनि बनाइसकेका छन् ।
उता प्रधानन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र कोइरालाबीच पनि गठबन्धनलाई बलियो बनाएर लैजान सहमति गरेको एउटा पत्र सार्वजनिक भएको छ । प्रधानमन्त्रीले पनि मुख्यमन्त्री गठबन्धनको भएको बताउँदै आएका छन् भने एमालेले मुख्यमन्त्री आफ्नो भएको बताएको छ । यस्तो अवस्थामा कोशीका मुख्यमन्त्री कार्कीले कसरी काम गर्लान् ? एमालेले भनेको मान्ने कि गठबन्धनले भनेको ? एमालेले कोशीबाट सुरु गरेको कोइरालाको विद्रोहलाई अन्य प्रदेशमा फैलाउन गर्न चाहेको छ । कोइरालाको गृहजिल्ला भएको प्रदेशमा त जम्मा आठ जनाको साथ कोइराला पक्षले पाएको छ । अन्य प्रदेशमा कोइराला पक्ष झन् कमजोर रहेको बताइन्छ ।
हिजो पार्टी सभापतिको रुपमा उभ्याउने गगनहरु यस प्रकरणपछि शेखरसँग असन्तुष्ट देखिएका छन् । यतिसम्मकी शेखरका निकट मानिएका गुरु घिमिरेहरु पनि यस कदमबाट सन्तुष्ट देखिएका छैनन् । केदार कार्की त राप्रपाबाहेकको विश्वासको मत पाएर बलियो भइसकेका छन् । एमालेका केही नेताले शेखरलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेपनि उनी पार्टीभित्र भनै झन् कमजोर देखिएका छन् । गत भदौमा कांग्रेस नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा देउवाकातर्फबाट आफू सभापतिको उम्मेदवार हुन सक्ने बताएका थिए । उनले भनेका थिए, ‘सभापतिजीले केही नभनेको भएपनि पार्टीका साथीहरुको विचार यही हुनसक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौं, उहाँहरुको विचार सुनौं, अनि मात्रै निर्णय गर्छु ।’ शशांकको यस्तो अभिव्यक्तिपछि केहीले देउवाकोतर्फबाट सभापतिको उम्मेदवार अनुमान गरेका थिए । तर अहिले शेखरको विद्रोले यसलाई थप बल दिएको छ । यस्तो अवस्थामा शेखरको राजनीतिक भविष्य कस्तो होला त ?
