पेस्तोल र गोलीसहित २८ वर्षीय युवक पक्राउ

 

काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरी विसं २०६७ मा प्रहरी वृत्त बौद्धबाट ज्यान मार्ने उद्योगमा मुद्दा चलेर पाँच वर्ष कैद भुक्तानी गरिसकेको परिसर प्रमुख खत्रीले बताए ।

पक्राउ श्रेष्ठमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरको कार्यभार सम्हालेपछि पहिलोपल्ट आयोजना गरिएको पत्रकार सम्मेलनमा परिसर प्रमुख खत्रीले कोही कसैको सरुवा हुँदैमा कुनै पनि घटनाको अनुसन्धान प्रभावित नहुने बताए ।

“कोही कसैको सरुवा हुँदैमा अनुसन्धान प्रभावित हुँदैन, नियमित काम भइरहन्छ, जहाँसम्म भूटानी शरणार्थी प्रकरणको कुरा छ त्यो रोकिँदैन, कानूनअनुसार अगाडि बढ्छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *