भोटेकोशीमा आएको बाढीमा एकै परिवारका दुईकाे शव भेटियाे, २० वेपत्ता, ८ घाइते (अपडेटसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने कम्तिमा १९ जना बेपत्ता भएका छन् ।

बाह्रविसे नगरपालिका–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनको ३ वर्षीया छोरीको शब भेटिएको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा फुन्जु शेर्पाले जानकारी दिए । 

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ । उनले गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको जानकारी दिए । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताए ।

बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । अहिले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ ।

घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको जानकारी स्थानीय पत्रकार दिनेश थापाले दिएका छन् ।

प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । बाह्रबिसेमा माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ घाइते छन् । भोटेकोसीमा फुर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते छन् ।

भोटेकोसी ५ का निमदोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्पु तामाङ, साहिल तामाङ बेपत्ता छन् । बाह्रबिसे ५ का १६ जना बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ छन् ।

यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *