काठमाडौं । रोजगारीका लागि भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन् ।
उत्तराखण्ड राज्यको गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका हुम्लाका वीरबहादुर होटलमा खाना खान लागेका बेला पहिरोले होटल नै बगाएको थियो। पहिरोमा होटल सञ्चालक वीरबहादुरसहित उहाँकी पत्नी सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् । पहिरोले बगाएको होटलमा खाना खान गएका धर्मराज बुढा र उहाँका छोरा मानबहादुर बुढा, अमर बोहरा, उहाँका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, पत्नी अनिता, छोरीद्वय राधिका र पिङ्की पनि बेपत्ता भएको जनाइएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद अधिकारीले पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पहिरोमा परेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि उत्तराखण्डको गौरीकुण्डको स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रही अधिकतम पहल गरिरहेको गृह प्रवक्ता भट्टराईले जानकारी दिए ।
यसै गरी घटनाको सूचनापछि खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरकारसमक्ष लिखित पत्राचारसमेत भइसकेको छ। भारतीय सञ्चार माध्यमले खोज तथा उद्धारमा उत्तराखण्ड प्रहरी परिचालन भएको र निरन्तरको वर्षाका कारण थप समस्या उत्पन्न भएको जनाएका छन् ।