बैतडी । पेन्सन बुझ्न भारत पुगेका बैतडीका एक नागरिकको बुधवार मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ८ त्रिपुराका ८३ बर्षीय धनसिंह रावल रहेका छन् । पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेकै बेला ढलेका रावलको मृत्यु भएको हो । लाइनै बसेका बेला एक्कासी ढलेका रावलको उपचारकोलागि लानेक्रमा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए । मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासबाट ग्रसित रहेको बुझिएको छ ।
रावलको कोरोना परिक्षण गर्न परिवारले नमानेकोले स्वाब संकलन पनि नगरिने प्रहरी नायव उपरिक्षक अधिकारीको भनाई छ । मृतकको शव परिवारको जिम्मा लगाईएको छ । मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त रहेका थिए ।
बुधबार नेपाल–भारत दुबै देशका जिल्ला प्रशासनको समन्वयमा झुलाघाट नाका खुला गर्ने सहमति भएपछि रावलसहित भारतीय पेन्सनधारी नेपाली नागरिक झुलाघाट पुगेका थिए । सीमा नाका बुधबारदेखि शुक्रबारसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
