भ्रष्टाचार नियन्त्रणमा कठोर हुनुपर्ने कांग्रेसका युवा पुस्ताको मत

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आफ्ना पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसका केही नेताले गृहमन्त्रीलाई भेटेर धन्यवाद दिए । उनीहरुले गृहमन्त्रीलाई भेटेर यो प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्नसमेत आग्रह गरेका छन् । तर पक्राउ पुर्जी जारी भएपछि पार्टी सचिव टोपबहादुर रायमाझीको प्रतिरक्षा गर्दै आएको एमालेले खाँण पक्राउ परेपछि मात्रै निलम्बन गरेको छ । तर पनि एमालेका केही नेता यसलाई विषयान्तर गर्न खोजिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा बुधबार बिहान कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे । पार्टी नेता पक्राउ परेपछि कांग्रेसप्रति धेरैले कटाक्ष गरे ।

तर भ्रष्टाचार सरकार निर्मम हुनुपर्छ भन्दै काग्रेसका २० भन्दाबढी नेताहरु गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगे । गृहमन्त्रीलाई भेट्न गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा. गोविन्द पोखरेलसहितका २० भन्दाबढी नेताहरु पुगेका थिए । उनीहरुले गृहमन्त्रीलाई भेटेर राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा सफलता हासिल गरेको भन्दै गृहमन्त्रीप्रति आभार प्रकट गरे । उनीहरुले यसप्रकरणमा सम्पूर्ण जरो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्याउन समेत गृहमन्त्रीलाई अनुरोध गरेका छन् ।

यस प्रकरणमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा संसदमा कडा रुपमा प्रस्तुत भए । उनीहरुले दोषी कसैलाई छाड्न नहुने बताए । संसदमा महामन्त्री थापाले भने, ‘म आग्रह गर्न चाहन्छु कि अनुसन्धान फ्रि र फेयर हुनुपर्छ । दोषी छुट्न हुँदैन र निर्दाेष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाइँको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’

यसैगरी पार्टीको पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वयले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने अडान राखेका थिए । त्यस्तै उनीहरुले यस प्रकरणमा पार्टी सभापतिको धारणा सार्वजनिक गर्न समेत माग गरेका थिए ।

यस प्रकरणमा कांग्रेसका अर्का नेता प्रदीप पौडेल पनि कठोर हुनुपर्ने पक्षमा देखिएका छन् । उनी भन्छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् । को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस् ।’

यही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमाले भने प्रतिरक्षामा उत्रिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नै रायमाझीको प्रतिरक्षामा उत्रिए। पक्राउ पुर्जी जारी भएको भोलिपल्ट एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री र एमालेको सचिवजस्तो मान्छेलाई बाटैबाट पक्राउ गर्नु रहस्यमय र षड्यन्त्रमय भएको’ भन्दै आपत्ति नै जनाए ।

एमाले पंक्ति नै टोपबहादुरको संरक्षणमा लागेपछि एमालेको सर्वत्र आलोचना भयो । तर पनि एमाले आफ्नो अडानबाट पछि हटेन । पार्टीको सचिवालय बैठकले समेत रायमाझीलाई निलम्बन गर्ने निर्णय गरेन । तर पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि बुधबार दिउँसो बल्ल एमालेले विज्ञप्ति जारी गरी रायमाझीलाई निलम्बन गरेको निर्णय सार्वजनिक गर्यो । भनिन्छ र नेताहरुले भन्ने गर्छन् कि भ्रष्टाचारीको कुनै पार्टी, जात धर्म केही हुँदैन । तर नेताहरु यस्तो थाहा हुँदाहुँदै किन यसरी उनीहरुकै संरक्षणमा लाग्छन् त ? नक्कली शरणार्थी प्रकरणमा सत्तारुढ भएर पनि कांग्रेस कठोर रुपमा प्रस्तुत हुनुपर्छ भन्ने पक्षमा देखियो । सायद उसले चाहेको भए खाँणलाई जोगाउन सक्थ्यो । जसरी ७० करोडको अडियो काण्डमा मुछिएका गोकुल बास्कोटा, बालुवाटारकाण्डमा मुछिएका विष्णु पौडेल, यति ओम्नी काण्डमा मुछिएका भानुभक्त ढकालहरुलाई एमालेले जोगायो । तर यस मानेमा कांग्रेसले सही निर्णय गर्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *