निर्भिक भएर कार्यक्षेत्रमा खटिन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

पोखरा । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरुको निरीक्षण गर्नुका साथै कोरोना संक्रमित कर्मचारीहरुलाई समेत भेट गरेका छन् ।

महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा गोरखा गुल्म समेतको निरीक्षणका क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारि पूरा गर्न निर्देशन दिएका हुन् ।

संगठनको आदेश र निर्देशनको पूर्णपालना गर्न तथा एक व्यक्तिको बदमासीका कारण सिंगो संगठनको बदनाम हुने कार्य नगर्न समेत निर्देशन दिए ।

सशस्त्र प्रहरी कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाका लागि क्षेत्रीय स्तरमा विद्यालयहरुको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको भन्दै उनले कार्यक्षेत्रमा उच्च मनोबल र अविचलित रहि कार्य गर्न समेत निर्देशन दिए ।

निरीक्षणका क्रममा महानिरीक्षक खनालले कोरोना संक्रमित कर्मचारीलाई समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *