काठमाडौँ । सरकारले मिटरव्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुलुकी अपराध संहितालगायतका कानून संशोधन गरेर मिटरब्याजमा रकम असुली अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने नर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहित ऐन, मुलुकी फौजदारी कार्यविधि संहित ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन गर्ने निर्णय विधेयक समितिमा पठाउने निर्णय गरेकाे छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता फणीन्द्र गौतमले संशोधन गर्ने विधेयक करिब अन्तिम चरणमा रहेको बताए ।
पीडितका लेनदेनका व्यवहार फरकफरक भएकाले त्यस्ता लेनदेनलाई कसुर परिभाषित गर्ने गरी मुलुकी संहिता र कार्यविधि संशोधन गर्न लागिएको उनको भनाइसहितको समाचार गोरखापत्रमा छ ।
