कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सरकारी स्रोतबाट प्राप्त भएको रकम दुरुपयोग गरी गलत प्रतिवेदन बनाइ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित १२ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी अनुदानको पेश्की रकममा सम्झौता बमोजिम काम नगरी हिनामिना गरेको भन्ने उजुरीमाथि छानबिन गर्दा आयोगले भ्रष्टाचार भएको फेला परेको जनाएको छ ।

आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका कालीकोटका तत्कालीन इञ्जिनीयर सुमित भट्ट, खानेपानी तथा ऊर्जा विकास कार्यालयका तत्कालीन सव इञ्जिनीयर गुरुराज सज्याल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध आयोगले रु ६६ लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

यस्ते, मूल्याङ्कन समितिका पदाधिकारी हरिप्रसाद पण्डित श्रीधर अधिकारी, दीपकुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालले कुनै वस्तुनिष्ठ आधार तयार नभएको र निमित्त कार्यालय प्रमुख बस्नेतले पेस गरेको प्रतिवेदन सदर गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यस्तै, आयोगले सिमनाथ कृषि विकास सहकारी संस्था कालीकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाही र सहकारी संस्थाविरुद्ध पनि ६६ लाख ५० हजार बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *