काठमाडौं । नेपालले आफ्नै भूउपग्रह पठाउन थालेपछि त्यसप्रतिको उत्सुकता बढेको छ ।
यसै क्रममा त्यसलाई बालबालिकाको तहदेखि नै अनुसन्धानको विषय बनाउन र भूउपग्रह बनाउन सिकाउन बेग्लै अभियान थालिएको छ कागजी उपग्रह अर्थात् पेपर स्याट ।
अन्तरिक्ष प्रतिष्ठान नेपालले दुई वर्षभन्दा माथिका बालबालिका र युवालाई ध्यानमा राखेर ‘पेपर स्याट’ अभियान थालेको हो ।
नेपालले २०७६ वैशाख ५ गते ‘नेपाली स्याट वान’ नानो स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो । अहिले मुनाल र डाँफे नामका दुई नानो स्याटेलाइट प्रक्षेपणको तयारी हुँदै गर्दा प्रतिष्ठानले शैक्षिक प्रयोजनका लागि नेपाली स्याटेलाइटको मोडेल (नमुना) स्याटेलाइट ल्याएको हो ।
नेपाली स्याटेलाइटको नमुना भूउपग्रहको नाम ‘पेपर स्याट’ दिइएको हो । ‘पेपर स्याट’ कागज र प्लास्टिकले बनेको नमुना भूउपग्रह हो । यो नमुना भूउपग्रह दुई वर्षभन्दा माथि उमेर समूहका बालबालिका र युवालाई लक्षित गरेर निर्माण गरिएको छ । वास्तमै भूउपग्रह कसरी बनाइन्छ, कस्तो देखिन्छ र यसले कसरी काम गर्छ भन्ने विषयबारे आधारभूत जानकारी दिने उद्देश्यले ‘पेपर स्याट’ ल्याइएको समाचार गोरखापत्र दैनिकमा छ ।
