लिखित बधाई सन्देशको ‘सन्देश’

काठमाडौं । हाम्रो जस्तो अस्थिर राजनीति भएको मुलुकमा विदेशी राजदूतहरु बेलाबेलामा राजनीतिक भेटघाटमा सक्रिय देखिन्छन् । सरकार फेरबदल आसपासको समय त राजदूतहरु झनै सक्रिय देखिन्छन् । यो परम्परा जस्तै भएको छ । राजनीतिक नेतृत्वसँग कुरा धेरै भएपनि दुई पक्षीय सम्बन्धकाबारेमा कुराकानी भएको बताइन्छ । मंसिर चारको निर्वाचनपछि भारत, अमेरिका, चीन, युरोपियन युनियनका राजदूतहरु राजनीतिक भेटघाटमा सक्रिय देखिए ।

नयाँ सरकार गठन भएपछि त प्रधानमन्त्रीलाई बधाई दिन राजदूतहरुको होडबाजी नै चलेको छ । प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन दुई छिमेकी मुलुक चीन र भारतबीच भने होडबाजी नै चलेको छ । टेलिफोनबाट सुरु भएको बधाई सन्देश ट्वीट हुँदै लिखित सन्देशसम्म पुगेको छ । प्रधानमन्त्री प्रचण्डकाअनुसार प्रधानमन्त्रीको रूपमा राष्ट्रपति भवनबाट निस्कँदै गर्दा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले टेलिफोन गरी बधाई दिएका थिए । त्यसपछि त्यसै साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई ट्वीटमार्फत बधाई सन्देश दिएका थिए ।

यसरी भारतबाटै सुरुमा बधाई सन्देश आएपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण पनि भारतबाटै हुने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले भनेका छन्, ‘मलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जान्छु । हिजो मेरो भारतको विदेश सचिव (विनयमोहन क्वात्रा) सँग पनि थोरै कुराकानी भएको थियो । सायद मेरो पहिलो भ्रमण भारत नै हुने सम्भावना देख्छु । भारतीय राजदूत नवीन श्रीवास्तव आफूलाई प्रधानमन्त्री भएकोमा बधाइ दिने पहिलो कूटनीतिज्ञ पनि हुनुहुन्छ । प्रधानमन्त्रीको रूपमा राष्ट्रपति भवनबाट निस्कँदै गर्दा श्रीवास्तवले मलाई बधाइ दिनुभएको थियो ।’ बधाई सन्देश ट्वीट र टेलिफोनमा मात्र सीमित रहेन । शुक्रबार भारतीय राजदूत श्रीवास्तले भारतीय प्रधानमन्त्री मोदीको लिखित बधाई सन्देश नेपालका प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले प्रचण्डलाई प्रधानमन्त्री भएकै दिन बधाई दिएकी थिइन् । तर चीन पनि त्यही बधाईमा सीमित रहेन । चीनका प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री प्रचण्डलाई लिखित सन्देश नै पठाएर चीनको साथ र सहयोग रहने बताएका छन् । भारतीय राजदूतले लिखित बधाई सन्देश हस्तान्तरण गरेपछि नेपालका लागि चीनका कार्यबाहक राजदूत ली क्वाङले प्रधानमन्त्रीको लिखित सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका छन् । सन्देशमा प्रधानमन्त्री ली ले नेपालको स्थायीत्व, विकास र समृद्धि चीनको साथ रहने उल्लेख छ ।

बिहीबार अर्को महाशक्ति राष्ट्र अमेरिकाका राजदूत डिआर थम्पसनले पनि प्रधानमन्त्री प्रचण्डसँग भेट गरी बधाई दिनुका साथै नयाँ सरकारलाई साथ र सहयोग रहने बताएका छन् ।
भारतीय विदेश मन्त्रालयले त पत्रकार सम्मेलन नै गरेर नेपालको नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताइसकेको छ । पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘दुई देशबीच जुन सद्भाव छ। जनता जनताबीचको सम्बन्ध छ। त्यसलाई दुबै देश मिलेर मजबुत बनाउँछौं ।’

हाम्रा छिमेकी तथा मित्र राष्ट्रले नयाँ सरकारलाई साथ र सहयोग गर्ने बताइसकेको अवस्थामा अब सरकारले उनीहरुको नभई आफ्नो स्वार्थ अनुसार काम गर्नुपर्छ । उनीहरुलाई आफ्ना नीति स्पष्ट पार्नुपर्छ । मित्र राष्ट्र हाम्रा लागि समान हुनुपर्छ र व्यवहार पनि समान । तर पुलक्कित भएर कसैको पक्ष भने पक्कै लिनु हुँदैन । यसमा भने नेतृत्व सजग र सतर्क हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *