‘दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं’

काठमाडौं । सांसद, मन्त्री तथा उनीहरुको स्वकीय सचिवले कोरोना कहरका बेला दशैं भत्ता लिएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला  केही सांसदले भत्ता नलिने बताएका छन् ।

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले कोरोना कहरका बेला भत्ता लिनु भन्दा त्यो पैसाले भेन्टिलेटर किन्न सुझाव दिएका छन् । उनले दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्ने बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई  हस्तान्तरण गर्दछु ।’

त्यसैगरी नेकपाका अर्का नेता भीम रावलले भने कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् । रावलले ट्वीट गर्दै भनेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन् गरी कुनैपनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

त्यसैगरी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भत्ता नलिने बताएका छन् । साझा पार्टीकी वागमती प्रदेश सभा सदस्य शोभा शाक्यले पनि दशैं भत्ता बापतको रकम कोभिड स्वास्थ्य कोषमा दाखिला गर्ने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *