पोखरा । मोफसलको प्रतिष्ठित २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फूटबल प्रतियोगितामा सहभागिता जनाउने सबै टोलीको टुंगो लागेको छ । पुस १४ गतेबाट २३ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा कुल १० टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालका विभागीय, विदेशी र स्वदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फूटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी, मछिन्द्र फूटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् ।
२०५८ सालमा क्याराभान कपको नामबाट शुरु भएको आहा रारा गोल्डकपले यसपटकबाट नाम परिवर्तन गर्दै आहा रारा पोखरा गोल्डकप बनाएको हो । गत संस्करणको गोल्डकप विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको थियो । यसपटक पुरस्कार राशिमापनि वृद्धि गरिएको छ । प्रथम पुरस्कारमा २ लाख र दोस्रोमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो । अब गोल्डकपको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ ।