अस्थिरता चाहने विश्व राजनीतिको प्रभाव नेपालमा देखा पर्‍यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिरता चाहने विश्व राजनीतिको प्रभाव नेपालमा देखा परेको बताएका छन् ।

नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको सातौं बैठकलाई हिजो सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामलाई लिएर विश्व राजनीतिको प्रभाव नेपालमा देखिएको बताएका हुन् ।

हालैको निर्वाचन परिणामले मुलुकमा अस्थिरतालाई प्रवर्द्धन गरेको बताउँदै महासचिव पोखरेलले अहिलेको जनमतले समाधान नदिने र यसको प्रभाव राष्ट्रिय राजनीतिमा बढ्दै जाने टिप्पणी गरे ।

महासचिव पोखरेलले सामान्यतया सहरिया मध्यमवर्गीय जनता सत्ता विरोधी हुने गरेको बताउँदै त्यस्तो जनमत प्रतिपक्षको पक्षमा हुने मान्यता रहे पनि एमालेले निर्वाचनमा त्यसलाई पक्षमा पार्न चुकेको विश्लेषण गरे । छिटो–छिटो परिवर्तन चाहने मध्यमवर्गीय जनताको मनोविज्ञान बुझेर कार्यक्रम दिनसक्नुपर्ने उनको भनाइ छ ।

महासचिव पोखरेलले निर्वाचनमा जनसंगठनको भूमिका अपेक्षित हुन नसकेको वताउँदै अबका दिनमा योजनावद्ध र व्यवस्थित ढंगले अगाडि बढ्नु जरुरी रहेको बताए ।

नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य रचना खड्का, विभिन्न २३ जनसंगठनका अध्यक्ष, महासचिव लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *