काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइसकेको छ । योसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । निर्वाचनको मतपरिणामअनुसार कांग्रेसले ८९, एमालेले ७८, नेकपा माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४, जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ र लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट प्राप्त गरेका छन् । अब राष्ट्रपति कार्यालयले नयाँ सरकारको गठन प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा ७६ (८)मा निर्वाचनअन्तिम परिणाम घोषणा वा प्रधानमन्त्री पद रिक्तभएको मितिले ३५ दिन भित्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा ७६ (१) मा कुनै एकै दलले बहुमत प्राप्त गरेको अवस्थामा सरकार बनाउने प्रक्रिया उल्लेख छ ।
तर, अहिले एउटै दलले बहुमत नल्याएकाले धारा ७६(२) अनुसार सरकार गठन प्रक्रिया सुरु हुन्छ । यसअन्तर्गत दुई वा दुईभन्दा बढी राजनीतिक दलको समर्थन प्राप्त गर्नेले सरकार गठन गर्ने सक्ने व्यवस्था छ । सरकार गठनका लागि बहुमत सदस्य १ सय ३८ आवश्यक हुन्छ । तर अहिलेको सत्ता गठबन्धनसँग पनि आवश्यक बहुमत छैन । त्यसैले सत्ता गठबन्धन बहुमत पुर्याउन जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई ल्याउन उनीहरुका नेता कार्यकर्ता रिहा गर्ने गरी अध्यादेश ल्याएको छ तर राष्ट्रपतिबाट अध्यादेश जारी भएको छैन ।
खासमा सरकारको सरकारको नेतृत्व कसले गर्ने भन्ने अन्यौल गठबन्धनका दलहरुभित्र देखिएको छ । कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइरालाले पनि प्रधानमन्त्रीको आकांक्षी रहेको बताउँदै आएका छन् । उनीहरु सबैले पार्टी संसदीय दलको नेताको दाबी गर्दै आएका छन् । को होला संसदीय दलको नेता त्यो त केही दिनमा कांग्रेसले छान्ने नै छ । सबैभन्दा ठूलो दल भएकाले प्रधानमन्त्री आफूहरुले पाउनुपर्ने दाबी कांग्रेस नेताहरुले भन्न थालेका छन् । तर पछिल्ला दिनमा प्रधानमन्त्रीको दौडमा माओवादी अध्यक्ष प्रचण्ड देखिएका छन् । उनले हरेक दिनजसो माओवादीले सरकारको नेतृत्व गर्ने बताउन थालेका छन् ।
पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १५औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले मुलुकको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले पनि केन्द्रीय नै रहेको अभिव्यक्ति दिए । राष्ट्रिय राजनीतिमा एजेण्डाका हिसाबले माओवादीकै एजेण्डा केन्द्रमा रहेको उनको भनाइ थियो । त्यस्तै गत आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा प्रचण्डले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताए । उनले सरकारमा आलोपालो प्रधानमन्त्री हुने कुरा स्पष्ट रहेको समेत बताए । उनले भनाई थियो, ‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ । ६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ ।’ त्यस्तै बुधबार पोखरामा आयोजित एउटा कार्यक्रममा प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका थिए । उनले भनेका थिए, ‘अब मसँग धेरै वर्ष समय छैन । यहाँहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’
प्रचण्डले आफू प्रधानमन्त्री बन्ने आशयको अभिव्यक्तिलाई कसैले कांग्रेससँग बार्गेनिङको रुपमा लिएका छन् । तर यो बीचमा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । गुरुङले बधाई दिन गएको बताएपनि दुई नेताबीच आगामी सत्ता समीकरणकाबारेमा पनि कुराकानी भएको बताइएको छ । यसरी एमालेसँग सरकार गठनका लागि माओवादीले कुरा यदि अघि बढाएको हो भने त्यसलाई देखेर कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री दिन तयार होला त ? अनि आफ्नो भन्दा आधा भन्दापनि कम सिट ल्याएको माओवादीलाई प्रधानमन्त्री दिएर सत्ता समीकरणलाई अघि बढाउन एमाले तयार होला त ? यस्तो अवस्थामा किन प्रचण्ड प्रधानमन्त्री बन्ने सपना देख्दैछन् ?
