अध्यादेशको विरोधमा आएको गगन थापाको अभिव्यक्ति साँच्चै कि बनावटी ?

काठमाडौं । सरकारले विभिन्न राजनीतिक समूहका मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्र सरकारको निर्णयको विरोध गर्ने होडबाजी चलेको छ । पार्टीको बैठक राखेर आधिकारिक धारणा सार्वजनिक गर्नुभन्दा पनि कांग्रेस नेताहरु सामाजिक संजालमार्फत अध्यादेशको र त्यो भन्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको विरोधमा उत्रिएका छन् । यसरी विरोधमा उत्रिनेमा सभापति देउवा इतर अर्थात् महामन्त्री गगन थापा पक्षधर नेता कार्यकर्ता बढी छन् । सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेशको विरोध गरे ।

त्यसको भोलिपल्ट अर्थात् सोमबार सामाजिक संजालमार्फत महामन्त्री थापाले शर्मालाई समर्थन गर्दै सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ ।’

कांग्रेस नेता डा. शेखर कोइरालाले पनि अध्यादेश ल्याउने सरकारका निर्णयको विरोध गर्दै अध्यादेशमार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका छन् ।

निर्वाचन सम्पन्न भई नयाँ संसद आउनै लाग्दा सरकारले अध्यादेश ल्याउनु गलत कार्य हो । त्यसको विरोध गर्नु स्वभाविक नै हो । तर कांग्रेस कांग्रेस महामन्त्री थापाले अध्यादेशको विरोध चाहिँ बनावटी जस्तो देखिएको छ । २०७७ मंसिर २९ गते कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कैलालीको टीकापुरका अन्यायमा परेका थारु समुदायलाई न्याय दिलाइदिने अभिव्यक्ति दिएका थिए । त्यहाँ भाषण गर्ने क्रममा थापाले तत्कालीन नेकपा सरकारलाई गाली गर्दै कांग्रेसले न्याय दिलाउनुपर्छ भन्ने पक्षमा रहेको बताएका थिए ।

सुन्नुस् महामन्त्री थापाको अभिव्यक्ति

महामन्त्री थापा पार्टी संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । विगतमा अन्यायमा परेका थारु समुदायलाई न्याय दिन्छु भन्ने थापाले अध्यादेशको विरोध किन त ? अध्यादेशको विरोध संसदीय दलमा चुनाव जित्ने माहौल बनाउनका लागि मात्रै हो कि त ? यदि होइन भने विगतमा टीकापुर नरसंहारमा संलग्नलाई किन न्याय दिनुपर्छ भन्दै हिँडेको त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *