काठमाडौं, मंसिर १२ । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ ।
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतवार साँझसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।
त्यसैगरी नेकपा (एमाले) ४३ स्थानमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सातरसात, जनता समाजवादी पार्टी नेपालले ६ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।
बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतीजा आउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अन्य सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम मंगलवारसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने पौडेलले बताए । बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ ।