सरकारलाई किरण चेम्जोङको खुल्ला पत्रः कहिलेसम्म खेल गतिविधि ठप्प ?

प्रज्जवल थापा ।

कोरोना भाइरस अर्थात् कोभिड १९ अझैपनि विश्वभर एकैनास फैलिरहेको छ । विश्वका सबै देश कोरोना भाइरसको शिकार भए । त्यसमध्यको एक देश हो, नेपाल ।

अहिलेपनि नेपालमा कोराना भाइरस पहिलाको भन्दा धेरै सङ्ख्या फैलिरहेको छ। तर सङ्क्रमितको सङ्ख्या बढेपनि लगभग सबै क्षेत्र खुलिसकेको छ। अझैपति ठप्प रहेको क्षेत्र खेलकुद मात्र हो । यातायात, मनोरञ्जन, बजार, सबै मापदण्ड पूरा गर्दै सुचारु भैसकेका छन् । शैक्षिक क्षेत्रलाई पनि आवश्यक मापदण्ड पूरा गर्दै खोल्न सक्ने सरकारले बताइसकेको छ । तर किन रोकिरहेको छ त खेलकुद क्षेत्र ? खेल खेलाउने मैदानमा फिल्म, म्युजिक भिडियो सुटिङ भएको देख्न सकिन्छ । सबै क्षेत्र सुचारु गर्दा खेलकुद क्षेत्र सुरु गर्न सकिदैन ? यहि प्रश्न अहिले जनमानसबाट चौतर्फी आइराखेको छ । तर सरकार यस विषयमा मौन छ ।

खेलकुदको एक पाटो फुटबल अहिले न्यून अवस्थामा छ । अखिल नेपाल फूटबल संघ(एन्फा) ले प्रशिक्षण र खेल खेलाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा निवेदन दिएको थियो । विभिन्न देशहरुबाट मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गर्दा सरकार र राखेपबाट कुनै जवाफ नआएको एन्फाले बताएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले सम्पूर्ण खेलकुदको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै खुला पत्र लेखेका छन् । उनले आवश्यक सबै मापदण्ड पूरा गर्दै खेलकुद सम्बन्धि सम्पूर्ण गतिविधि सुचारु गर्न सरकारलाई आग्रह गरेका छन्। ।

किरणले लेखेका छन्, “आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकारज्यूलाई सानो खुला पत्र लेख्न चाहन्छु । म नेपाली राष्ट्रिय टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुरु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण रुपमा सुरु गर्न अनुरोध गर्दछु।“ उनले सरकारलाई प्रश्न गरेका छन्, “किन एकान दुकान गर्दै हुनुहुन्छ ? के खेलाडी सधैं मर्नैपर्ने हो ? मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडी सधैं काठमाडौंको धुलोमा तपाईंहरु चैं चिलो गाडीमा ?”

देशको खेलकुदको बारेमा बोल्ने मानिस नभएको भन्दै उनले लेखेका छन्, “फुटबलमा भविष्य खोज्ने भाइबैनीहरुमा कतिको असर परेको छ भने कुरा प्रष्ट देख्न सकिन्छ । धेरैजसो देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन । दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्युजिक भिडियोका लागि प्रवेश खुला हुने । फुटबलका लागि खेल्न चैं किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण खेलमैदान मा खेल सुरु गरिदिन अनुरोध गर्दछु ।”

उनले खेलाडीको भविष्यको बारेमा भनेका छन्,“७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ । जुन खेलाडी खेलेर नै जिविका चलाउँथ्यो ऊ त आजभोलि खेल मैदान छाडेर विदेश पो जाँदै छ त । लाज हुने कुरा होइन ? जय देश, जय नेपाली फुटबल ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *